अत्तरिया– कैलालीको अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसलाई विभिन्न सामग्रीहरु सहयोग गरिएको छ । गोदावरी नगरपालिकाले सेभ हाउसलाई ४ लाख बराबरका विभिन्न किसिमका सामग्रीहरु सहयोग गरेको हो ।
नगरपालिकाले केही सामग्रीहरु यसअघि नै सेभ हाउसलाई उपलब्ध गराईसकेको थियो भने केही सामग्रीहरु आईतबार प्रदान गरेको हो । आईतबार उपलब्ध गराईएका सामग्रीहरु नगरप्रमुख विरेन्द्र भट्टले सेभ हाउसकी अध्यक्ष जानकी मलासीलाई हस्तान्तरण गरे ।


सो पश्चात बोल्दै नगरप्रमुख भट्टले सरकारले गर्नुपर्ने कार्य एउटा महिलाले गरिरहेको बताए । उनले एउटै महिलाले सेभ हाउसलाई व्यवस्थीत पारेर सञ्चालन गर्ने प्रयास गरिरहेको बताए । ‘यस्तो कार्य सरकारले गर्नुपर्ने हो । तर सरकारले नसकेको कुरालाई उहाँले व्यवस्थीत पार्ने प्रयास गर्नुभएको छ’ उनले सेभ हाउसकी अध्यक्ष मलासीलाई इंकीत गर्दै भने ‘उहाँको यस कार्यको म प्रसंसा गर्दछु ।’

नगरप्रमुख भट्टले काम गर्ने समयमा सबैले हाम्रो हो भन्ने सोच लिएर गरे हरेक कुरामा सफलता मिल्ने समेत बताए । उनले सकारात्मक सोचका साथ सबै एकजुट भएर काम गरे यहाँका हरेक संघसंस्थाहरुलाई व्यवस्थीत तरिकाले अगाडी बढाउन सकिने बताए । सेभ हाउसको सञ्चालकले पनि सबैसँग सकारात्मक समन्वय गर्न आवश्यक रहेको उनको भनाई छ । ‘सञ्चालकको हैसियतले सबैसँग तपाईले सकारात्मक समन्वय गर्न आवश्यक छ’ उनले भने ‘तपाईले सबैसँग राम्रो सम्बन्ध बनाउन बनाएर यो संस्थालाई अघि बढाउनुपर्छ ।’ उनले स्थानीय सरकार आधारभुत आवश्यकतालाई पुरा गर्ने सरकार भएको र त्यसका लागि निरन्तर लागिरहेको समेत बताए ।

सेभ हाउसकी अध्यक्ष जानकी मलासीले नगरप्रमुखले सेभ हाउसका लागी अभिभावकीय भुमिका खेलेको बताईन । उनले नगरपालिकाले निरन्तर रुपमा सेभ हाउसलाई सहयोग गरिरहेको बताईन । उनले नगरपालिकाले सहयोग गरिरहेको भएपनि आफूहरुलाई भने अझै बढी आस लागिरहेको बताईन । ‘नगरपालिकाले हामीलाई निरन्तर सहयोग गरिरहेको छ, वार्षिक ४ लाख बराबरको रकम सेभ हाउसका लागि छुट्याईन्छ’ उनले भनिन् ‘तर त्यतिले मात्रै सेभ हाउसलाई पुग्दैन, हामीलाई वार्षिक कम्तिमा पनि १० लाख जती छुट्याईए केही बढी राहत हुने थियो ।’ उनले आगामी दिनमा अझै पनि नगरपालिकाबाट सहयोग हुने विश्वास लिएको बताईन ।
नगरपालिकाले सो रकमबाट सेभ हाउसलाई सोफा सेट, खाद्यान्न, शैक्षिक सामग्री, स्वास्थ्यका सामग्री लगायतका सामानहरु प्रदान गरेको हो ।
