अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १ मा रहेको घण्टेश्वर माविमा लागू औषध दुव्र्यसन विरुद्ध जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ । गोदावरी नगरपालिका – १ को आर्थिक सहयोगमा अत्तरिया मिडिया प्रालिले जनचेतनामूलक कार्यक्रम आयोजना गरेको हो ।
विद्यालयका अध्यक्ष गोकुल भट्टको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा गोदावरी नगरपालिका – १ का वडाध्यक्ष गोपाल दत्त भट्ट प्रमुख अतिथि रहेका थिए ।


कार्यक्रममा बोल्दै उनले लागू औषधको भयावह अवस्था रहेकाले यस्ता जनतेचनाका कार्यक्रमले यसमा न्यूनिकरण गर्न सहयोग पुग्ने बताए । उनले दैनिक जस्तो यस क्षेत्रबाट लागू औषध सहित युवायुवतीहरु पक्राउ पर्ने गरेको बताउँदै यसले समाजको भविष्य पछाडि धकेलिने खतरा रहेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकुल भट्टले पछिल्लो समय महिला पनि लागू औषधमा लाग्ने गरेकाले छात्र, छात्रा दुवैलाई सचेत गराउन आवश्यक रहेको बताए । कार्यक्रममा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी वरिष्ठ नायव निरीक्षक दीपेन्द्र दत्त भट्ट र गोपाल जोशीले प्रशिक्षण दिएका थिए ।
पत्रकार ध्रुव ओझाले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जानुका भट्ट, निवर्तमान प्रधानाध्यापक दीपकराज भण्डारी लगायत शिक्षक र डेढ सय बढी विद्यार्थीको सहभागिता रहेको थियो ।

