अत्तरिया – घर थपिँदै जाँदा अत्तरिया बजार क्षेत्रमा खाली क्षेत्र मासिँदै गइरहेको छ । निजी क्षेत्र मात्रै नभएर विभिन्न सार्वजनिक ठाउँमा पनि भवन बनाउने होडबाजीले खाली क्षेत्र मासिँदै जाँदा बस्ती बिस्तार भएर अत्तरिया उकुसमुकुस हुने सहर बन्ने खतरा छ । यसरी खुला ठाउँ खुम्चिँदै गएको बेला अत्तरियाकै पृथ्वीनगर टोलमा रहेको शिव मन्दिर प्राङ्गणमा भने खालि क्षेत्रको संरक्षण गर्दै रमणीय स्थान बनाउन स्थानीय अग्रसर भएका छन् ।
चाहना सामुदायिक वनको भवन रहेको खालि ठाउँमा घेर बार गरेर स्थानीयले शिव मन्दिर, राधाकृष्ण मन्दिर, गणेश मन्दिर सँगै बाल उद्यान निर्माण गरेका छन् । स्थानीयले शिव मन्दिर व्यवस्थापन समिति गठन गरेर सो क्षेत्रलाई धार्मिक सँगै पर्यटकीय क्षेत्रका रूपमा पनि विकास गर्दै लगेका छन् ।


शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धर्म राज भट्टले मन्दिर सँगै शिव लिङ्ग, यज्ञ शाला, हवन कुण्ड, चिल्ड्रन पार्क (बाल उद्यान) स्थापना गरिएको बताए । उनले आगामी दिनमा यसलाई अझै रमणीय स्थल बनाउनको लागि मन्दिर परिसरमा पोखरी निर्माण गर्ने योजना गरेको बताए । उनले मन्दिर परिसरमा आधा कट्ठामा दुबो र आधा कट्ठामा कुश रोप्ने योजना रहेको बताए । धार्मिक काममा प्रयोग हुने दुबो, कुश पाउन समस्या हुने भएकाले त्यसको संरक्षण गर्नको लागि मन्दिर परिसर मै दुबो, कुश रोप्न लागिएको उनले बताए । उनले मन्दिर परिसरमा ४÷५ गाई अटाउने गौशाला निर्माणको योजना पनि रहेको बताए ।

उनले मन्दिर परिसरमा रातीको समयमा पनि झिलिमिली बनाउन लाइट लगाउने योजना पनि अघि सारेको बताए । ‘अहिलेको समय अनुसार हामीले यस मन्दिर क्षेत्रलाई झिलिमिली बनाउनको लागि चौरैतिर लाइट लगाउने योजना बनाएका छौ’ उनले भने ‘मुख्य सडक देखि मन्दिर आउने बाटोमा पनि लाइट लगाउनु पर्ने छ ।’ नगरपालिका, प्रदेश सरकार मात्रै नभएर स्थानीयले व्यक्तिगत सहयोगबाट मन्दिर लगायतका संरचना स्थापना गरेको उनले बताए ।
मन्दिरमा प्रदेश सरकार, स्थानीय सरकार र स्थानीयको श्रमदानमा निर्माण गरिएको पार्कको शनिवार मात्रै उद्घाटन गरिएको थियो । गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले उक्त पार्कको उद्घाटन गरेका थिए । उद्यान प्रदेश सरकारको ५ लाख, वडा नम्बर १ को ७५ हजार, नगरपालिकाबाट ३४ टिप्पर ग्राभेल सहयोग निर्माण गरिएको थियो ।

उद्यानको उद्घाटन गर्दै उनले मन्दिरमा बालबालिका खेल्न पाउने भएकाले यसले मन्दिरको पनि राम्रो देखिने बताए । उनले मन्दिर निर्माणले यस क्षेत्रको जग्गा अतिक्रमण हुन बाट पनि जोखिएको बताए । उनले मन्दिर परिसरमा नगरपालिका पोखरी निर्माण गरिदिने बताए । बाल उद्यान निर्माण भएपछि स्थानीय सम्राट् सिंहले खुसी व्यक्ति गरे । उनले पार्क निर्माण भएपछि आफूहरूलाई खेल्न, व्यायाम गर्न सहज भएको बताए ।
