बाजुरा– बाजुराका रोपाई सुरु भएको छ । जिल्लाका अधिकांश किसानहरुले धान रोपाई सुरु गरेका हुन । खोला किनार तथा सिँचाइको सुविधा भएका ठाउँमा किसानले जेठको पहिलो सातादेखि नै रोपाइँ सुरु गरिसकेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।
ज्ञान केन्द्रका सूचना अधिकारी प्रेमराज न्यौपानेले जिल्लामा यस वर्ष छिटो धान रोपाई सुरु भएको बताए । उनले यसअघि जेठ १५ देखि रोपाइँ सुरु हुने गरेको भए पनि यस वर्ष भने यहाँका अधिकांश किसानले जेठको पहिलो सातादेखि नै रोपाइँ सुरु गर्न थालेको बताए ।


बुढीगंगा नगरपालिका– १० का किसान दलबहादुर लुहारले जेठको पहिलो हप्तादेखि रोपाइँ सुरु गरेको बताए । उनले भने ‘यहाँ प्रायः पानीको पालोमा रोपाइँ गर्नुपर्ने हुन्छ । जेठको पहिलो हप्तादेखि नै पानीको पालो पर्ने भएकाले यहाँ अधिकांश किसानले रोपाइँ सुरु गर्ने गरेका छन् ।’ जेठको पहिलो सातादेखि रोपाइँ सुरु गरेर असारको २८ सम्म रोपाइँ सक्नुपर्ने भएकाले यती बेला सोही समयमा रोपाइँ सुरु गरेको उनि बताउँछन ।
बाजुरामा पाखो जमिनमा चैत र वैशाखमा धान छर्ने गर्दछ भने असारको धान रोपाइँ भने जेठको पहिलो सातादेखि सुरु हुन्छ । यहाँ प्रायः सिँचाइ सुविधा कम हुने भएकाले आकाशे पानीको भरमा खेती गर्ने गर्दछन् । बर्खाको खेतीका लागि पानी परेपछि पानीका महान फुट्ने र त्यसैको साहारामा खेती गर्नुपर्ने हुन्छ भने हिउँदमा हिमपात नभएसम्म खेती राम्रो उत्पादन हुँदैन ।
बाजुरामा २ लाख ३० हजार ३७ हेक्टर जमिनमध्ये २२ हजार हेक्टर मात्र खेती योग्य छ । त्यसमध्ये ५ हजार २३५ हेक्टर जमिन मात्र वर्षभरिमा सिँचाइ हुन्छ । त्यसमा ६ हजार ९१५ हेक्टर जमिनमा धान खेती गरिन्छ ।



















