अत्तरिया– कैलालिको गोदावरी नगरपालिकामा कानुन सम्बन्धी एक दिने कार्यक्रम आयोजना गरिएको छ । नगरपालिकाको न्यायिक शाखाले वडास्तरका मेलमिलापकर्ताहरुका लागि कानुनसम्बन्धी एक दिने कार्यक्रम आयोजना गरेको हो ।

वडास्तरका मेलमिलापकर्ताहरुलाई न्याय सम्पादनमा सहजता दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नगरपालिकाको न्यायीक शाखाले जनाएको छ । मेलमिलापकर्ताहरुलाई न्याय सम्पादनका क्रममा कानुनी सम्बन्धी समस्या आउने भएकाले आगामी दिनमा उनिहरुले त्यस्ता समस्या भोग्न नपरोस भन्ने लक्ष्यका साथ नगरका सबै वडाका मेलमिलापकर्ताहरुलाई कानुन सम्बन्धी जानकारी दिन लागिएको शाखाले जनाएको छ ।

सोमबार शाखाले वडा नं. १ देखी ६ सम्मका मेलमिलापकर्ताहरुलाई प्रशिक्षण दिएको थियो । मंगलबार वडा नं. ६ देखी १२ सम्मका मेलमिलापकर्ताहरुलाई प्रशिक्षण दिईने बताईएको छ । कार्यक्रममा मेलमिलापकर्ताहरुलाई कानुको परिचय, कानुनका प्रकार, महत्व, मेलमिलापका कार्यविधि, मेलमिलापका विशेषता, फाईदा, न्याय सम्पादनको प्रकृया लगायतका बारेमा जानकारी दिईएको थियो । कार्यक्रममा सहभागी मेलमिलापकर्ताहरुलाई नगरपालिकाका कानून अधिकृत तपेन्द्र न्यौपानेले प्रशिक्षण दिएका थिए ।



















