अत्तरिया– कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी) लाई धनगढी लैजाने सम्झौता रद्द गर्न भन्दै नेपाल सरकारका संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्रीलाई ज्ञापन पत्र बुझाईएको छ ।
डीडीसीलाई अत्तरियामै रोक्न गठन गरिएको दुग्ध विकास संस्थान संरक्षण संघर्ष समितिले शुक्रबार कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मार्फत संघीय कृषिमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा डीडीसीलाई धनगढी सार्ने सम्झौता भएको भन्ने सुन्नमा आएकाले सो सम्झौता रद्द गरी अत्तरियामा नै कायम राख्नका लागि सम्बन्धीत निकायमा पहल गरिदिन अनुरोध गरिएको छ ।


यस्तै डीडीसीको हालसम्म आफ्नै स्वामित्वमा जग्गा उपलब्ध भईनसकेको हुँदा उक्त संस्थालाई जग्गा उपलब्ध गराउने विषय प्रकृयामै रहेको समेत ज्ञापन पत्रमा भनिएको छ । उक्त ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक सिडियो किरण जोशीलाई हस्तान्तरण गरिएको थियो । उक्त ज्ञापन पत्रमा जग्गा प्राप्ती कार्यदलका संयोजक गोपाल दत्त भट्ट, डीडीसी संरक्षण संघर्ष समितिका संयोजक लोकराज पाण्डेय आगो, सह–संयोजक धर्म कुँवर, सचिव विक्रम बिष्ट, उपसचिव बाबुराम बलम्पाकी ले हस्ताक्षर गरेका छन ।
अत्तरियामा डीडीसीका लागि जग्गा आवश्यक भएको विषयमा यसअघि जग्गा प्राप्ती कार्यदल गठन गरिएको थियो । सो कार्यदलले जग्गा खोज्ने कार्य प्रकृयामै रहेको बताउदै आएको छ । तर जग्गा खोज्ने कार्य प्रकृयामै रहदा रहदै डीडीसीलाई धनगढी सार्ने सम्झौता भैसकेको भन्ने जानकारीमा आएपछि स्थानियहरु आन्दोलित भएका थिए । जसका कारण स्थानियहरुले संषर्घ समिति नै गठन गरेर डीडीसीलाई अत्तरियामै राख्न दवाव दिन सुरु गरेका हुन ।
भिडियो



















