अत्तरिया – स्थानीय तह अन्तरगत वडाहरूले ल्याउने बजेटमा सामाजिक विकास प्राथमिकतामा पर्दै जान थालेको छ । केही वर्ष पहिले भौतिक पूर्वाधारमा मात्रै जोड दिदैं आएका कैलालीको गोदावरीका वडाहरूले पछिल्लो समय वडामा सामाजिक, आर्थिक विकासमा जोड दिन थालेका हुन । विशेष गरेर बजार क्षेत्रका भन्दा ग्रामीण क्षेत्रका वडाहरूले सामाजिक, आर्थिक विकासलाई जोड दिन थालेका छन् । सोमबार वडा नम्बर १२ ले आफ्नो नीति, कार्यक्रम तथा बजेट ल्याउँदै कुल बजेटको ६३ प्रतिशत बजेट आर्थिक तथा सामाजिक विकासका लागि छुट्टाएको छ ।
वडाध्यक्ष भीम बहादुर खड्काले वडामा आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारको बसोबास रहेकाले सामाजिक र आर्थिक क्षेत्रमा बढी बजेट विनियोजन गरिएको बताए । वडाले ल्याएको नीति तथा कार्यक्रममा पनि स्वास्थ्य, महिला, ज्येष्ठ नागरिक, एचआईभी, सङ्क्रमित, एकल महिलाका कार्यक्रमलाई प्राथमिकता दिइएको छ । यस्तै युवा युवतीका लागि कम्प्युटर तालिम, खेलकुद, लागूपदार्थ दुव्र्यसन, न्यूनीकरण, गर्भवती महिलालाई पोषण कार्यक्रम, दलित सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्ने नीति ल्याइएको वडाध्यक्ष खड्काले बताए । वडाले सुरक्षा सेवा प्रवेश तयारी कक्षा सञ्चालन गर्ने, युवाहरूलाई लोक सेवा तयारी कक्षा तथा ईग्लिस स्पिकिङ्क कोर्स कक्षा सञ्चालन गर्ने, सिकर्मी कामकाज गर्ने युवाहरूलाई आवश्यक सामग्री वितरण गर्ने जस्ता नयाँ कार्यक्रम पनि नीति कार्यक्रममा समेटेको छ ।


सोमबार वडाको नवौँ वडा भेलामा आर्थिक वर्ष २०८२/०८३ का लागि १ करोड २ लाख २६ हजार ८३९ बराबरको बजेट प्रस्तुत गरेको थियो । जसमा आर्थिक क्षेत्रको विकासका लागि ३७ लाख सामाजिक क्षेत्रका लागि २७ लाख ५० हजार बजेट विनियोजन गरिएको छ । वडाले पूर्वाधार विकासमा २३ लाख, वन तथा वातावरण क्षेत्रमा ५ लाख र सुशासन तथा अन्य क्षेत्रमा ९ लाख ७६ हजार ८३९ रुपैयाँ विनियोजन गरेको छ ।
सोमबार गोदावरी नगरपालिका – ११ ले आगामी आर्थिक वर्षका लागि बजेट ल्याएको छ । नवौँ वडा भेलामा वडाध्यक्ष प्रेम सिंह बडैलाले ८६ लाख ८६ हजार २०२ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका थिए । वडा नम्बर ११ ले भने पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेको छ । वडाले पुर्वाधार विकासमा ५४ लाख रुपैयाँ विनियोजन गरेको छ भने सामाजिक विकासतर्फ वडाले १५ लाख १५ हजार रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै आर्थिक विकासतर्फ १० लाख, वन तथा वातावरण क्षेत्रतर्फ १ लाख ६० हजार २०२, सुशासन तथा संस्थागत विकास तर्फ ५ लाख ७६ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
दुवै वडाका वडा भेलामा गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्ट, उपप्रमुख शारदा रोकाया लगायतका नगरका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, स्थानीयको सहभागिता रहेको थियो ।














