धनगढी – कैलालीको घोडाघोडी नगरपालिका–५ र १२ जोड्ने कान्द्रा नदीको निर्माणाधीन पुलबाट खस्दा एक युवकको मृत्यु भएको छ । आइतबार बेलुका पुलबाट खसेर बाँकेको राप्ती सोनारी गाउँपालिका–४ भगवानपुरका २७ वर्षीय दीपेन्द्र थारुको मृत्यु भएको हो ।

झोलुङ्गे पुल निर्माणका लागि कामदारका रुपमा आएका थारु सात फिट तल खसेको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।

अवस्थीका अनुसार आइतबार बेलुका खाना खाइसकेपछि उनी घरमा फोन गर्न बसेको स्थानबाट नेटवर्क आउने ठाउँतिर गएका थिए । सोही क्रममा उनी पुलबाट खसेका अनुमान गरिएको छ ।
सोमबार बिहान मात्रै अन्य कामदारले देखेपछि प्रहरीलाई खबर गरेका थिए । दीपेन्द्रको शव आफन्तको जिम्मा लगाइ शव परीक्षणका लागि टीकापुर अस्पताल लगिएको प्रहरी नायब उपरीक्षक अवस्थीले जानकारी दिए ।













