खाेज्नुहाेस

विश्वविद्यालय विधेयक पारित भएको खुसीयालीमा गेटामा दीप प्रज्वलन 

Image

अत्तरिया –  ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ पारित भएको खुसीयालीमा गेटामा दीप प्रज्वलन गरिएको छ । आइतबार प्रतिनिधिसभा बैठकबाट विधेयक पारित भएको खुसीयालीमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सङ्घर्ष समितिले दीप प्रज्वलन गरेको हो ।

दीप प्रज्वलन कार्यक्रममा बोल्दै सङ्घर्ष समितिका संयोजक लोक राज पाण्डेले (आगो) ले विधेयक पास भएको खुसीयालीमा सरकारलाई धन्यावाद दिँदै दीप प्रज्वलन गरिएको बताए । उनले लामो सङ्घर्ष पछि सुदूरपश्चिमबासिका लागि ठुलो उपलब्धि भएको बताए ।

attariya hospital

‘निकै लामो सङ्घर्ष पछि देशभरिमा २५ भन्दा बढी कलेज, प्रतिष्ठान भइसक्दा पनि सुदूरपश्चिममा एउटा पनि थिएन’ उनले भने ‘आज यो विधेयक पास गर्ने सरकारलाई धन्यावाद ज्ञापन गर्न चाहन्छु ।’ उनले निकै लामो लडाइमा साथ दिने सबैलाई धन्यावाद ज्ञापन गरे ।

उनले विधेयक पारित भए पनि आन्दोलन भने नरोकिएको बताए । ‘जबसम्म आप्रोन लगाएको विद्यार्थी यहाँबाट पढ्न पाउँदैनन्, तब सम्म हाम्रो आन्दोलन जारी रहन्छ’ उनले भने ‘कम्तीमा ६ सय शय्याको अस्पताल सञ्चालन हुनुपर्छ ।’

उनले अब सुदूरपश्चिम मेडिकल हब बन्ने बताए । ‘अहिले सम्म हामी उपचारका लागि प्लेन चढेर काठमाडौँ जान्थ्यौ, अब काठमाण्डौंका मानिस पनि उपचारका लागि यहाँ आउने छन् ।’

navjiwan hospital

सङ्घर्ष समितिका सदस्य लोकेन्द्र धामीले विधेयक पास भएपछि गेटाको लामो समयदेखिको मोडालिटि विवाद टुङ्गिएको बताए । उनले देशको पहिलो स्वास्थ्य विश्वविद्यालय बनेकाले अब आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरेर पढाई सुरु गर्नुपर्ने बताए ।

दीप प्रज्वलन कार्यक्रममा सङ्घर्ष समितिका साथै स्थानीयको ठुलो सङ्ख्यामा सहभागिता रहेको थियो । दीप प्रज्वलन पछि खुसियालिया देउडा पनि खेलिएको थियो ।