खाेज्नुहाेस

गोदावरी – ५ को आगामी आर्थिक वर्षको बजेट १ करोड १ लाख

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– ५ ले आगामी आर्थिक वर्षका लागि १ करोड १ लाख बढीको बजेट प्रस्तुत गरेको छ । वडाले शनिबार वडाभेलाको आयोजना गर्दै नगरबाट प्राप्त बजेट सिलिङका आधारमा १ करोड १ लाख ५५ हजार ३७ रुपैया बराबरको बजेट प्रस्तुत गरेको हो ।

नगरले उक्त वडालाई समानिकरणमा ७० लाख र सुत्रका आधारमा ३१ लाख ५५ हजार ३७ रुपैया बराबरको बजेट सिलिङ दिएको थियो । सो सिलिङ अनुसार विभिन्न शिर्षकमा बजेट बाडफाँड गरिएको वडाध्यक्ष सुद्धिराम चौधरीले जानकारी दिए । उनका अनुसार वडाले आगामी आर्थिक वर्ष २०८२/०८३ मा सबैभन्दा बढी पुर्वाधार विकासमा बजेट विनियोजन गरेको छ ।

attariya hospital
navjiwan hospital

सो क्षेत्रमा कुल बजेटको ५५ प्रतिशत बजेट विनियोजन गरिएको वडाध्यक्ष चौधरीले जानकारी दिए । त्यसबाहेक आर्थिक विकासको क्षेत्रमा १५ प्रतिशत, सामाजिक विकासको क्षेत्रमा १० प्रतिशत र बाँकी अन्य क्षेत्रमा बजेट विनियोजन गरिएको वडा कार्यालयले जनाएको छ ।

वडाले हालसम्म गरेका कामहरुका बारेमा पनि वडाभेलामा जानकारी दिईएको थियो । जसमा नाली निर्माण, छाडा पशुचौपायाका लागि टहरा निर्माण तथा व्यवस्थापन, उज्यालो विद्यालयको अवधारणा अनुसार प्रत्येक विद्यालयमा लाईट, युवाहरुका लागि व्याटमिन्टन कोर्ट निर्माण, विभिन्न तालिमहरु, खोप केन्द्र सुधार लगायतका रहेका थिए । वडाभेलामा आगामी आर्थिक वर्षको निति तथा कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो ।

वडाध्यक्ष चौधरीको सभापतित्वमा आयोजित वडाभेलाका प्रमुख अतिथि नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए भने विशिष्ठ अतिथिमा उपप्रमुख शारदा देवी रोकाया रहेकी थिईन । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिका साथै स्थानियहरुको सहभागिता रहेको थियो ।