धनगढी – धनगढी स्थित नवजिवन सहकारी संस्थाले ब्राण्डिङ गरेको चामल ३ हजार सेयर सदस्यको घरमा पुगेको छ । सहकारीका सञ्चालक समिति अध्यक्ष देव बहादुर बमका अनुसार हालसम्म ३ हजार सेयर सदस्यको घरमा चामल पुगिसकेको छ ।

पहिलो चरणमा धनगढीमा चामल बिक्रि गरेको सहकारीले काठमाण्डौँ र बाँसगढीमा समेत चामल बिक्रि गरिसकेको छ । अबको दुई महिनाभित्र ६ हजार सेयर सदस्यको घरमा चामल पुग्ने उनले बताए ।

आफ्ना सेयर सदस्यहरुलाई सुलभ दरमा चामल उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको कृषी उप–आयोजना अन्तर्गत सहकारीले कैलालीको गोदावरी नगरपालिका ८ मजगाउँमा खाद्य गोदाम तथा मिल सञ्चालन गरिसकेको छ ।
सोही मिलबाट उत्पादन भएको चामल सेयर सदस्यहरुको घरमा पुगाउने काम भइरहेको छ । चैत ९ गतेबाट चामल बिक्रि सुरु गरेको सहकारीले किसानहरुबाटै धान खरिद गर्ने गरेको छ । सहकारीले प्रतिकठ्ठा १ हजार २ सय ५० रुपया र १ हजार ४ सय रुपयाँ पर्ने गरी दुई प्रकारको चामल बिक्रि गरिरहेको छ ।














