धनगढी – प्रहरी माथि सङ्गठित तस्करीको आरोप लगाउँदै नेपाल पत्रकार महासंघमा बेनामी उजुरी परेको छ । हालै ‘राम सिंह’ नामबाट महासंघमा पठाइएको उजुरीमा सादा पोसाकका प्रहरी र अन्य सुरक्षाकर्मीहरू सङ्गठित तस्करीमा संलग्न भएको आरोप लगाइएको छ । पत्रमा भनिएअनुसार प्रहरी, सशस्त्र प्रहरी र सुराकी टोलीहरूले मिलेमतोमा भारतबाट चिनी, मल, गन्ना लगायतका वस्तुहरू रातारात नेपाल भित्र्याउने र त्यसबापत मासिक लाखौँ रुपैयाँ असुल गर्ने गरेका छन् ।
उक्त उजुरीमा कैलालीका सीमावर्ती नाका—जस्तै टिकापुर, भजनी, हँसुलिया, फूलबारी, जुगेडा, नल्का घाट, डोकेबजार, त्रिभुवन बस्ती, बेलौरी र भुडा—तस्करीका प्रमुख मार्गको रूपमा प्रयोग भइरहेको उल्लेख छ । ती नाकाबाट दैनिक लाखौँ रुपैयाँ बराबरका सामग्री ओसारपसार हुने आरोप छ । सादा पोसाकमा खटिएका प्रहरी, सुराकी ब्युरो इन्चार्ज, सिभिल इन्चार्ज तथा टाइगर टोलीका केही सदस्यले हाकिमलाई गुमराहमा राख्दै तस्करीको मार्ग खुला बनाउने, व्यापारीहरूसँग मिलेर नियमित रकम असुल गर्ने काममा संलग्न भएको भनिएको छ । केही प्रहरी अधिकारीहरूको नाम समेत उजुरीमा उल्लेख गरिएको छ ।


उजुरीकर्ताले संघीय सरकार, गृह मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै घटनाको छानबिन र संलग्नहरूमाथि कडा कारबाहीको माग गरेका छन् ।
यस सम्बन्धमा नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाले उजुरीलाई महासंघले ‘सूचनाको रूपमा’ लिएको स्पष्ट पारे । उनका अनुसार, छानबिन तथा कारबाही गर्ने अधिकार महासंघसँग नरहेको भए पनि पत्रकारहरूले सूचना पुष्टि गरी समाचार सम्प्रेषण गर्न सक्नेछन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डिएसपी० राजकुमार सिंहले भने महासंघमा परेको बेनामी उजुरीबारे जानकारी नभएको प्रतिक्रिया दिए । यद्यपि, उनले लिखित वा मौखिक उजुरी परेमा त्यसबारे छानबिन गर्ने र आरोप प्रमाणित भएमा प्रहरी ऐन तथा नियमावलीअनुसार कारबाही गरिने बताए ।
















