बाजुरा– बाजुरामा पुस्तौँ देखि अँध्यारोमा रहँदै आएका दुर्गम गाउँबस्ती पछिल्लो समय उज्यालोन्मुख हुन थालेका छन् । स्थानीय तहहरुले बत्ती बाल्ने कामलाई पहिलो प्राथमिकता दिएसँगै पछिल्लो समय यहाँका अँध्यारा गाउँबस्ती उज्याला हुँदै गएका हुन् ।
सयौँ वर्ष देखि टुकी र झरोको भरमा रात काटिरहेका दुर्गमका स्थानीयले यती बेला दिन रात बिजुली बत्तीको प्रयोग गर्न थालेका छन् । पहिला गाउँमा बिजुली नहुँदा यहाँका स्थानीयलाई राती झरोको प्रयोग गर्न बाध्य हुनु परेको थियो भने यता चार्ज गर्न पनि बत्ती नहुँदा सञ्चार सेवा सुविधाबाट पनि वञ्चित हुँदै आएका थिए ।

‘पुस्तौँ देखिका यी अँध्यारा बस्तीमा झरो टुकीको भरमा रात काटी रहेका थियौ । अहिले पालिकाको पहलमा गाउँमा बत्ती पुगेपछि निकै खुसी लागेको छ’ हिमाली गाउँपालिका– १ का परमल रोकायाले भने ‘अहिले त अति दुर्गम गाउँमा समेत अहिले बिजुली बत्ती बलेको छ ।’

यसअघि विजुलीबत्ति नहुँदा यहाँ बालबालिकाहरुलाई अध्ययन अध्यापनमा समस्या हुने गरेको थियो भने मोबाईल चार्ज लगाउन समेत समस्या थियो । गाउँमा पैसा हुनेले सोलरबाट मोबाइल चार्ज गर्ने गरेका थिए । गरिबले भने मोबाइल चार्ज गर्न नपाउँदा सञ्चार सेवा सुविधाबाट समेत सधैँ वञ्चित हुनु परेको थियो ।
अहिले पालिकाले कादुरी संस्था सँग समन्वय तथा सहकार्य गर्दै आएपछि यती बेला यहाँका दुर्गम गाउँ बस्ती उज्याला हुँदै आएको रोकायाले बताए । हिमाली गाउँपालिका र कादुरी एग्रीकल्चरल एड एसोसिएसन ब्रिटिस गोर्खाज नेपालको आर्थिक सहयोगमा गाउँमा नाति खोला जलविद्युत परियोजनाले एक सय किलोवाट विद्युत् उत्पादन गरी यहाँका दुर्गम गाउँ बस्तीका स्थानीयलाई अँध्यारोबाट मुक्त गरिदिएको छ ।

भौगोलिक विकटतामा रहेका यहाँका गाउँ बस्ती लामो समय देखि अन्धकार रहँदै आएका थिए । लामो समयको प्रयासपछि यती बेला यहाँका दुर्गम गाउँ बस्तीमा बत्ती बाल्न सफल भएको हिमाली गाउँपालिकाले जनाएको छ । ‘यहाँका स्थानीयको माग नै विद्युत्, सडक, स्वास्थ्य, शिक्षा हो’ हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले भने ‘हामीले पनि उनीहरूका ती माग पुरा गर्ने गरी निरन्तर काम गरिरहेका छौ ।’
अहिले यहाँका अधिकांश वडामा रहेका दुर्गम गाउँ बस्तीमा समेत बिजुलीको पहुँच रहेको उनले बताए । विगतका दिनहरूमा टुकी र झरोको सहायतामा रात काट्न बाध्य भएका यहाँका स्थानीयले अहिले दिन रात बिजुली बत्तीको प्रयोग गर्दै आएका छन् ।
