कैलाली– सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले सरकारी रकममा पढेकाहरुले नेपालकै लागि काम गर्नुपर्ने बताएका छन । शुक्रबार कैलालीको टीकापुरमा सुरु भएको २ दिने शिक्षाको राष्ट्रिय सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन ।
उनले नेपाल सरकारको रकमबाट पढेकाहरु विदेशिनु दुखद भएको बताए । ‘नेपाल सरकारको रकमबाट पढेका विद्यार्थीहरू पनि नेपालमा केही काम नगरेर विदेशिनु दुखद कुरा हो’ उनले भने ‘सरकारी रकममा पढेकाले नेपालकै लागि काम गर्नुपर्छ ।’ सम्मेलनको उद्घाटन गर्दै उनले अध्ययन अनुसन्धानबाट आएका निचोडलाई कार्यान्वयनमा लैजान पनि सुझाव दिए । विभिन्न विषयमा अध्ययन अनुसन्धान भएपनि त्यसलाई कार्यान्वयनमा नलिँदा गरेका कामको पनि परिणाम नदेखिने भएकाले अबका दिनमा गरिने अध्ययन अनुसन्धानका निचोडलाई कार्यान्वयन गर्नुपर्ने उनको भनाई थियो ।


कार्यक्रममा शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले अनुसन्धानलाई एउटा संस्कृतिका रुपमा विकास गर्दै लैजानुपर्ने बताए । उनले अनुसन्धानकर्ताले हाम्रो संस्कार, संस्कृतिलाई अधिकार गर्दै आफ्नो अध्ययनलाई अगाडी बढाउँदा राम्रो नतिजा आउने बताए । सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसमा सामाजिक विज्ञानमा बहुआयामिक अनुसन्धान र नवीनता विषयमा राष्ट्रिय सम्मेलन शुरु भएको हो ।
दुई दिनसम्म चल्ने सम्मेलनमा देशभरका ८ वटा विश्वविद्यालयका प्राध्यापकहरूद्वारा विभिन्न विधाहरू (भाषा साहित्य, व्यवस्थापन, सामाजिकशास्त्र, संस्कृति, विज्ञान तथा प्रविधि, कृषिविज्ञान आदि) मा जम्मा ८१ वटा अनुसन्धान तथा खोजमूलक कार्यपत्रहरू प्रस्तुति गरिने छन् ।
विश्वविद्यालय अनुदान आयोग, सुदूरपश्चिम विश्वविद्यालय टीकापुर बहुमुखी क्याम्पस, अमेरिकन राजदूतावास, सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय, स्थानीय सरकार, वित्तीय सङ्घसंस्था, विद्यालयलगायत अन्य संघसंस्थाहरूको सहयोग र सहकार्यमा कार्यक्रम गर्न थालिएको हो । कार्यक्रममा विभिन्न विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार, डिन, स्थानीय पालिका प्रमुख, क्याम्पस तथा विद्यालयका प्रमुखहरूलगायत करिब २०० जना शिक्षाप्रेमी सहभागी छन् ।
