अत्तरिया– गोदावरी मोबाईल व्यवसायी संघले ईलाका प्रहरी कार्यालय मालाखेतीमा नयाँ सरुवा भएर आएका प्रहरी नायब उपरिक्षक (डिएसपी) रणबहादुर चन्दलाई स्वागत गरेको छ । संघले बिहिबार डिएसपी चन्दलाई उनकै कार्यकक्षमा भेटेर टिका र मालासहित स्वागत गरेको हो ।
संघले डिएसपी चन्दलाई स्वागत गर्दै आफ्ना समस्याहरु राखेको थियो । संघका तर्फबाट डिएसपी चन्दलाई अनुरोध पत्र दिईएको थियो । जसमा गोदावरी नगरक्षेत्र भित्रका मोबाइल व्यवसायीहरुका समस्या तथा गुनासाहरु राखिएका थिए । संघका अध्यक्ष गंगा प्रसाद निरौलाले डिएसपी चन्दका सामु मोबाईल व्यवसायीहरुका विभिन्न समस्याहरु राखेको बताए ।


उनले पुनः प्रयोग गर्न मिल्ने मोबाईलको मर्मत गरी बजारमा ल्याएर विक्रिवितरण गर्ने अनुमती दिन, पुराना मोबाईलहरु खरिद बिक्रिमा सरलीकरण गर्न र मोबाईल मर्मतमा प्राविधिकलाई कानुनी सुरक्षा दिन लगायतका समस्याहरु राखिएको बताए ।
उनका अनुसार पुनः प्रयोग गर्न मिल्ने सेलफोनहरु मर्मत गरी पुनः बजारमा ल्याउन सकिए उपभोक्ताहरुले सुलभ मुल्यमा गुणस्तरिय सेलफोनहरु प्राप्त गर्न सक्छन । त्यस्तै उपभोक्ताहरुले प्रयोग गरिरहेका पुराना सेलफोन बिक्रि गर्न चाहेको अवस्थामा उक्त सेलफोन बिलबिजक नभएको अवस्थामा पनि विक्रेता वा खरिदकर्ताले आफ्नो परिचय खुल्ने सरकारी मान्यता प्राप्त प्रमाणपत्रको आधारमा खरिद बिक्रि गर्न मिल्ने गरी सहज वातावरण सृजना गर्न अनुरोध गरिएको अध्यक्ष निरौलाले बताए ।
त्यतिमात्र नभई हाल मोबाईल मर्मत गर्ने प्राविधिकहरु सेलफोन अनलक गर्दा कानुनी झमेलामा पर्ने समस्या देखिएकाले त्यसको समाधानका लागि समन्वय गरिदिन पनि अनुरोध गरिएको उनले बताए । ‘नेपालमा मोबाईल ट्रयाकिङ सिस्टम नहुँदा सिमकार्ड राख्न सेलफोन अनलक अनिवार्य हुनुपर्दछ, यस्तो अवस्थामा प्राविधिकहरुले अनलक गरेवाफत कानुनी कारबाहीमा पर्ने अवस्था आउने गरेको छ’ उनले भने ‘सो समस्याको समाधानका लागि आवश्यक समन्वय गरिदिन पनि हामीले अनुरोध गरेका छौ ।’
