बाजुरा– परम्परागत रुपमा काठका भाँडा बनाउने पेशा अहिले संकटमा परेको छ । सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लाहरुमा प्रचलित यो पेशा अहिले अस्तित्वको संकटमा परेको हो । पेशामा आवद्ध व्यक्तिहरुले मेहनत अनुसारको आम्दानी नहुने भन्दै हात झिक्न थालेपछि यो पेशा अहिले लोप हुने स्थितिमा पुगेको छ ।
लामो समयदेखी काठका भाँडा बनाउदै आएका बाजुराको बडिमालिका नगरपालिका–५ का कृष्ण चदाराले उक्त पेशाबाट मेहनत अनुसारको आम्दानी नहुने भएपछि गुजारै मुस्किल भएको बताए । उनले परम्परागत रूपमा चदारा समुदायले अंगालेको यो पेशा हाल जीविकोपार्जनका लागि पर्याप्त नभएपछि संकटमा परेको बताए ।


खप्तड छेडेदह गाउँपालिका–३ का व्यवसायी राजेन्द्र चदाराको गुनासो पनि उस्तै छ । उनले पहिलेको तुलनामा अहिले काठका भाडाँबाट आम्दानी कम हुन थालेको बताए । ‘पहिले काठका भाँडा बनाएवापत प्रत्येक घरबाट ‘खलो’ अर्थात अन्न पाउने चलन थियो’ उनले भने ‘अहिले त्यो पनि हराउँदै गएको छ, पहिलेको तुलनामा अहिले त्यस्तो राम्रो छैन ।’
पछिल्ला वर्षहरूमा प्लास्टिकका भाँडा सर्वसुलभ र लोकप्रिय हुँदै गएपछि काठका भाँडाको माग घट्दै गएको छ । आधुनिकताको चपेटामा परेका उपभोक्ताहरूले परम्परागत सामग्रीको सट्टा आधुनिक विकल्प रोज्न थालेका छन् । एक समय एक गाउँमा दर्जनभन्दा बढी परिवारले अंगालेको यो पेशामा अहिले जिल्लाभर दुई–चार जनामात्र सक्रिय रहेको पाइएको छ । युवापुस्ताले यो पेशाबाट पर्याप्त आम्दानी नहुने देखेपछि वैकल्पिक रोजगार र विदेशिनेतर्फ आकर्षण बढाएका छन् ।
स्थानिय आरन व्यवसायीहरूले राज्यले अन्य व्यवसायीलाई जस्तै काठका भाँडा बनाउनेहरूलाई पनि सहयोग गरेमा यो पेशा जोगाउन सकिने विश्वास व्यक्त गरेका छन् ।
















