अत्तरिया – विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा अत्तरियामा बिरामीहरूलाई फलफूल वितरण गरिएको छ । ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा अत्तरियाका पत्रकारहरूले अत्तरिया अस्पताल र पदमा अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरेका हुन ।
फलफूल वितरण कार्यक्रममा बोल्दै प्रेस चौतारीका प्रदेश इन्चार्ज दिल बहादुर छत्यालले दिवसका अवसरमा फलफूल वितरण गरेको गरेकोमा धन्यावाद ज्ञापन गरे । उनले पत्रकारले लोकतन्त्र, गणतन्त्रका लागि सङ्घर्ष गरेको भए पनि अहिले लोकतन्त्रै मै पनि पत्रकार असुरक्षित भएकाले यसको अन्त्य हुन आवश्यक रहेको बताए ।

‘यति बेला पनि नेपालका श्रमजीवी पत्रकार भौतिक रूपमा, पेसागत रूपमा अहिले पनि चुनौतीको सामना गर्नु परिरहेको छ’ उनले भने ‘अहिले पनि पत्रकारहरूले लेखेकै कारण धम्की भोग्नुपर्ने, आक्रमण भोग्नुपर्ने, कार्यक्षेत्रमा खटिँदाखेरि ज्यान गुमाउनु पर्ने अहिलेको कहालीलाग्दो अवस्था छ । यसको अन्त्य होस भन्ने हामी चाहन्छौ ।’

प्रेस युनियनका केन्द्रीय सदस्य पुष्प राज जोशी पत्रकारितामा देखिएका चुनौती चिर्दै अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताए ।

पदमा अस्पतालका डाक्टर नर बहादुर मौनीले हरेक परिस्थितिमा पत्रकारहरूले सामना गर्दै कलम चलाउँदै आएको बताउँदै दिवसको अवसरमा अस्पतालमा फलफूल वितरण गरेकोमा धन्यावाद ज्ञापन गरे ।
‘नयाँ विश्वमा साहसी पत्रकारिता, प्रेस स्वतन्त्रता र सञ्चार माध्यममा कृत्रिम बौद्धिकताको प्रभाव’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै आज नेपालमा विभिन्न कार्यक्रम गरी दिवस मनाइएको छ ।

स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाइने गरेको छ ।