अत्तरिया– कैलालीको अत्तरियामा साईबर सुरक्षाका लागि डिजिटल साक्षरताका बारेमा कार्यक्रम आयोजना गरिएको छ । गोदावरी नगरपालिकाको सहयोगमा कम्युटर्स एसोसियसन नेपाल (क्यान) सुदूरपश्चिम प्रदेश समितिले शुक्रबार सो कार्यक्रमको आयोजना गरेको हो ।
साईबर सुरक्षाका बारेमा जानकारी दिनका लागि आयोजित सो कार्यक्रमलाई एक औपचारीक समारोहका बिच उद्घाटन गरिएको छ । क्यान सुदूरपश्चिमका अध्यक्ष धन बहादुर बोगटीको सभापतित्वमा आयोजित उद्घाटन समारोहका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए । समारोहलाई सम्बोधन गर्दै उनले एक्काईसौ सताब्दीमा प्रविधिसँग अगाडी बढ्न आवश्यक रहेको बताए । उनले प्रविधि भएर नै सबै क्षेत्रहरुमा कामकारबाहीका लागि सहजता भएको बताए ।


उनले सबै जना प्रविधिसँग जोडिएको र प्रविधिको एकदमै महत्व रहेको अवस्थामा यसको सुरक्षा सर्तकताका बारेमा भने जानकार हुन जरुरी रहेको बताए । ‘प्रविधिले हामीहरुलाई धेरै कुरामा सहजता बनाउदै गर्दा यो भित्र विभिन्न नकारात्मक पक्षहरु पनि छन’ उनले भने ‘अहिलेको समयमा प्रविधिले निम्त्याएको कमजोरी र युवाहरु गलत बाटोमा हिडिरहेको अवस्था दयनिय छ, यसलाई कम गर्न आवश्यक छ ।’ उनले सूचना प्रविधि दिवसको अवसरमा क्यानसँग सहकार्य गरेर नगरपालिकाले पहिलो पटक यस्तो किसिमको कार्यक्रम आयोजना गरेको उनले बताए ।
उनले यस्ता कार्यक्रमहरुमा शिक्षकहरुको बढी सहभागिता हुनुपर्ने भएकाले त्यसो हुन नसकेको बताए । ‘अहिलेको समयमा विद्यालय उमेर समुहका व्यक्तिहरु साईबर सम्बन्धी लतमा लागेको हुनाले यो सम्बन्धी जानकारी सबै शिक्षक साथीहरुले सिकुन र आ–आफ्नो विद्यालयका विद्यार्थीहरुलाई ति कुराहरु जानकारी दिउन भन्ने हिसाबले हामीले बढी जसो शिक्षक साथीहरुलाई यो कार्यक्रममा समावेश गराउन चाहेका थियौँ’ उनले भने ‘यद्दपी कार्यक्रममा शिक्षक साथीहरुको सहभागिता कम छ, तर जति पनि उपस्थित हुनुहुन्छ ति साथीहरुलाई यो कार्यक्रमले एक किसिमको सिकाई दिनेछ भन्ने कुरामा म विश्वस्त छु ।’ उनले कार्यक्रममा सहभागि सम्पुर्ण व्यक्तित्वहरुले आ–आफ्नो समाजमा कार्यक्रमबाट सिकेका साईबर सम्बन्धीका कुराहरु सिकाउनेछन भन्ने विश्वास लिएको समेत बताए ।
क्यानका प्रदेश अध्यक्ष धन बहादुर बोगटीले प्रविधिको समयमा कार्यक्रम सबैका लागि अति नै आवश्यक भएको बताए । उनले जति सूचना प्रविधिका क्षेत्रमा गतिविधि गर्नका लागि सजिलो बनेको त्यतिकै जोखिम पनि रहेको बताए । उनले सो जोखिमलाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा कार्यक्रम आयोजना गरिएको बताए । ‘जति अहिले सूचना प्रविधिका माध्यमबाट काम गर्न सजिलो छ, त्यति नै जोखिम पनि छ’ उनले भने ‘त्यो जोखिमलाई कसरी कम गर्न सकिन्छ भन्ने उद्देश्यका साथ हामीहरुले नगरपालिकासँगको सहकार्यमा यो कार्यक्रम आयोजना गरेका हौ ।’ उनले तल्लो स्तरमा साइबर सम्बन्धी सूचना पु¥याउन जरुरी रहेको र यसको बारेमा जानकारी गराउन जरुरी रहेको भन्ने सोचेर प्रदेश स्तरको कार्यक्रम भएपनि नगरपालिकाबाट कार्यक्रम सुरु गरिएको बताए । कार्यक्रमका सहभागिहरुले कार्यक्रमको प्रभावकारीता जिवनमा नै लागु भएको अनुभुती गर्ने समेत उनले बताए । उनले यस्ता गतिविधिहरु क्यानमार्फत विगतका वर्षहरुमा पनि गर्दै आएको र आगामी दिनहरुमा पनि गर्दै जाने बताए ।

कार्यक्रममा नगरकार्यपालिका सदस्य, विभिन्न वडाका वडाध्यक्ष, वडासचिव, नगरपालिकाका विभिन्न शाखाका कर्मचारी, नगरभित्रका सामुदायिक विद्यालयहरुका शिक्षक लगायतको सहभागीता रहेको थियो । सहभागीहरुलाई सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता डेकेन्द्र राज जोशी, क्यान महासंघका केन्द्रिय सचिव सरिता न्यौपाने र प्रहरी नायब निरिक्षक जीवन चौधरीले प्रशिक्षण दिएका थिए ।