अत्तरिया – लामो समय देखि प्रतीक्षित सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक संसद्को कार्यसूचीमा परेर पनि रोकिएपछि ठुलो चलखेलको आशङ्का गर्न थालिएको छ । गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनै नदिने गरी ठुलो चलखेल भइरहेको आशङ्काका बिच प्रतिनिधिसभाको कार्यसूचीमा परेर पनि विधेयक हटाइदा आशङ्का माथि थप मलजल पुगेको हो ।
विधेयक ल्याउन ढिलाइ हुँदा गेटामा निर्माण भएका भौतिक संरचना प्रयोग विहीन बनेका छन् । सरकारले गेटामा २०७९ माघ २९ गते नै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयन गर्नको लागि विधेयक आवश्यक पर्ने भए पनि घोषणाको २ वर्ष भन्दा बढी समय बितिसक्दा पनि विधेयक बनेको छैन । सोमबार (वैशाख १५ गते)ं विधेयक पास गर्ने गरी प्रतिनिधि सभाको कार्यसूचीमा परेर पनि एक्कासि रोकिएपछि झनै अन्योल सिर्जना भएको छ ।

सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सङ्घर्ष समितिका संयोजक लोक राज पाण्डे (आगो) ले विधेयक सदन पेस हुन नदिन चलखेल भएको बताउँदै यस किसिमका चलखेल रोक्न पुनः एक पटक दबाब दिन आवश्यक रहेको बताए । उनले लामो समय देखि सुदूरपश्चिमका जनताले शिक्षा र स्वास्थ्यकै लागि सङ्घर्ष गरिरहनु परेको बताउँदै अब भने जसरी भए पनि गेटामा विश्वविद्यालय सञ्चालनका वातावरण बनाउन यस क्षेत्रका नेताहरूले भूमिका खेल्नुपर्ने बताए ।

सङ्घर्ष समितिका सदस्य लोकेन्द्र धामीले सोमबार कार्यसूचीमा राखिएपछि शिक्षक आन्दोलनका कारण शिक्षा मन्त्री जान नसकेको सुन्नमा आए पनि यसमा विभिन्न अदृश्य शक्तिले चलखेल पनि खेलेको हुन सक्ने बताए ।
‘मेडिकल माफिया देखि लिएर विभिन्न व्यक्तिहरूको गेटामा विश्वविद्यालय बनाउने इछ्या नरहेको भन्ने पनि सुन्ने गरिएको छ’ उनले भने ‘अहिले विधेयक पास हुने अवस्था आए पनि वहाँहरू पनि सक्रिय भएको हुनसक्छ ।’ उनले अब जुनसुकै हालतमा पनि नीति कार्यक्रम अघि नै विधेयक पास गर्नुपर्ने बताए । उनले विधेयक पास गराउनको लागि दबाब दिन यस क्षेत्रका नेताहरूलाई भेटेर दबाब दिने काम पनि भइरहेको बताए ।

सङ्घर्ष समितिले बुधवार नेकपा एमाले सचिव लेखराज भट्टलाई भेटेर सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालयको विधेयक संसदमा ल्याउनका लागि पहल गरिदिन आग्रह गरेको थियो । भेटमा सचिव भट्टले विधेयक पुनः कार्यसूचीमा राखेर पास गराउन आफूले पहल गरिरहेको बताए । उनले विधेयक छिटो सदनमा पेस गरेर विश्वविद्यालय सञ्चालनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको बताए ।
‘विधेयक आएर विश्वविद्यालय सञ्चालनमा आए यो आफै सस्टेन्स गरिहाल्छ’ उनले भने ‘यहाँ विश्वविद्यालय चलाउन भूगोल नै उपयुक्त भएकाले यहाँ बिरामी र विद्यार्थीको पनि अभाव हुँदैन ।’ उनले विधेयक सँगै यस वर्षको नीति तथा कार्यक्रममा पनि गेटा विश्वविद्यालय समेट्न आवश्यक भएकाले त्यसका लागि पनि पहल गरिरहेको बताए ।

उनले यहाँ विश्वविद्यालय हुन नदिन केही व्यक्तिले पुरै तागत लगाइरहेकाले समस्या भएको बताए । भेटमा सङ्घर्ष समितिका पदाधिकारीले विधेयक रोक्ने प्रयास गरिए दबाबका कार्यक्रम गर्न बताएका थिए । सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालयको विधेयक २०८० माघ २९ गते राष्ट्रिय सभाबाट पारित भएको थियो । निकै ढिला गरी सोमबार प्रतिनिधि सभामा पेस हुने कार्यसूचीमा परेर पनि सभामुखले सम्बन्धित मन्त्री उपस्थित नभएको भन्दै हटाएका थिए ।