अत्तरिया – विभिन्न अपराधको सुदूरपश्चिमकै ट्रान्जिट पोइन्ट बन्ने गरेको अत्तरियामा सुरक्षा चुनौती पनि बढी नै छ । जसका लागि यस क्षेत्रमा डिएसपीकै कमाण्डमा प्रहरी परिचालन हुने गरेको छ । एक वर्षको हाराहारी कार्यकाल हुने डिएसपीहरूले सुरुमा तडकभडक गर्ने र पछि सुस्ताउने गरेको आरोपका बिच १३ महिनाको कार्यकाल सकेर आज डिएसपी गंगा बहादुर थापा पनि बिदा हुँदै छन् ।
२०८० चैत १९ गते इलाका प्रहरी कार्यालय मालोखेती अत्तरियामा हाजिर भएका डिएसपी थापाले सुरुमै यस क्षेत्रका सुरक्षा चुनौतीका बारेमा स्थानीय सँग अन्तरक्रिया कार्यक्रम गरेका थिए । तिनै अन्तरक्रियामा उठेका विषयका आधारमा आफ्ना ५ टार्गेट सेट गरेका डिएसपी थापाले बिदा हुनु अघि आफूले गरेका कामको विवरण सार्वजनिक गरेका छन् ।

मंगलबार कार्यकक्षमै सञ्चारकर्मीलाई बोलाएर आफ्ना १३ महिनाका कामको विवरण सार्वजनिक गरेका डिएसपी थापाले आफ्नो कार्यकाल कति सफल भयो या भएन भन्ने मुल्याङ्कन गर्ने जिम्मा भने जनताको भएको बताए । उनले आफूले लागू औषध, जुवा तास, होटलमा हुने अनैतिक क्रियाकलाप, भन्सार छली र फरार अपराधी पक्राउ गर्ने ५ टार्गेट सेट गरेर काम गरेको बताए ।
उनले अत्तरिया क्षेत्रमा समस्याका रूपमा रहेको होटलमा हुने अनैतिक क्रियाकलाप रोक्न आफूले धेरै मिहेनत गरेर धेरै हद सम्म सफल पनि भएको बताए । उनले यो अवधिमा होटलमा हुने अनैतिक क्रियाकलापमा संलग्न १०४ जना पक्राउ गरिएको बताए । पक्राउ पर्नेमा ५९ पुरुष, ४२ महिला र ३ जना तेस्रो लिङ्गी रहेको उनले बताए । अत्तरियामा क्षेत्रका होटलमा हुने अनैतिक क्रियाकलापमा कमी आएको बताउँदै डिएसपी थापाले यस्ता केही होटलहरु बन्द नै भएको बताए । उनले भने ‘अहिले अनैतिक क्रियाकलापमा कमी आएको छ । अहिले यो पेसामा लागेका कतिपयले पेसा छोडेका छन् भने कति यस्ता होटलहरु बन्द नै भएका छन् ।’ उनले होटलमा हुने अनैतिक क्रियाकलापमा संलग्नलाई सार्वजनिक अभद्र व्यवहार शीर्षक मुद्दामा कारबाही गरिएको बताए ।

लागू औषधको ट्रान्जिट पोइन्टकै रूपमा चिनिँदै आएको अत्तरिया क्षेत्रबाट १३ महिनाको अवधिका १ सय जना पक्राउ गर्ने सफल भएको डिएसपी थापा बताउन्छन । उनका अनुसार पक्राउ परेकाहरूको साथबाट ७८ ग्राम ८३२ मिलिग्राम खैरो हिरोइन, २१ किलो २८० ग्राम चरेस, २८० ट्याब्लेट नाईट्राभेट/ट्रामाडोल, १ हजार टेपाण्डाडोल बरामद गरिएको छ । लागू औषधका ५९ मुद्दामा ९५ पुरुष र ५ महिला पक्राउ परेको उनले बताए ।

उनले १३ महिनाको अवधिमा जुवा तास सम्बन्धी मुद्दामा ८५ जना पक्राउ परेको बताए । १० वटा जुवा तासका अप्रेसन गरिएकोमा ६ लाख १० हजार, १४९ रुपैयाँ नगद बरामद गरिएको उनले बताए । त्यस्तै १३ महिनाको अवधिमा १ करोड १६ लाख ७० हजार ६५५ रुपैयाँ बराबरको भन्सार छलीको सामान समेत बरामद गरिएको डिएसपी थापाले बताए । बढी जसो भन्सार छलीको सामान भने गोदावरीको वनदेवी मन्दिर र चौकिडाँडा क्षेत्रबाट बरामद गरिएको थियो ।
उनले १३ महिनाको अवधिमा ५० जना फरार प्रतिवादी पक्राउ गरी ६ वर्ष २० दिन कैद भुक्तान र ८ लाख ८२ हजार ८६३ रुपैयाँ जरिवाना असुल गरिएको बताए । उनले यो अवधिमा २७७ सामुदायिक प्रहरी साझेदारी कार्यक्रम गरिएको बताए । जसमा ९० प्रतिशत लागू औषध मुद्दा सँग सम्बन्धित भएको उनले बताए । उनले जनचेतना कार्यक्रममा यौनजन्य अपराध, साइबर क्राइमका बारेमा पनि जानकारी दिइएको बताए ।

डिएसपी थापाले आफ्नो कार्यकालमा भएका गोदावरी नगरपालिका – ३ मा भएको सामूहिक जवर्जस्ती करणी घटना, गोदावरी नगरपालिका – ५ गेटामा भएको कुमारी देवी थारुको शङ्कास्पद मृत्यु घटना, गौरीगंगा नगरपालिका – ११ कान्तिपुरका ३५ वर्षीय सुरेश भुलको हत्या घटना र गोदावरी नगरपालिका – १ अत्तरियाको दुर्गा मन्दिरमा भएको जगदीश कैनीको हत्या घटनाको सफल अनुसन्धान गर्न सफल भएको बताए ।
समग्रमा १३ महिनाको अवधिमा ३३३ मुद्दा दर्ता भएकोमा सो मुद्दामा संलग्न ५३१ जनालाई पक्राउ गरेको उनले बताए । जसमा ४६१ पुरुष ७० महिला पक्राउ परेका थिए । दर्ता भएका मुद्दामध्ये सार्वजनिक अभद्र व्यवहारमा ९४, लागू औषध ५९, बैङ्किङ कसुर ६५, जवजस्ती करणी २२, जवजस्ती करणी उद्योग ५, चोरी १७ र अन्य ७१ मुद्दा दर्ता भएको डिएसपी थापाले बताए ।
समग्रमा डिएसपी थापाले १३ महिनाको अवधिमा सङ्ख्यात्मक हिसाबले होटलमा हुने अनैतिक क्रियाकलापमा संलग्न पक्राउ गर्ने, भन्सार छलीको सामान बरामद गर्ने काममा सुधार आएको देखिए पनि अन्य काम भने औसत नै रहेको आम सर्वसाधारणको बुझाई छ । यो अवधिमा भएका ठुला घटनामा सफल अनुसन्धान भएको दाबी गरिएपछि यसअघि नै अत्तरियामा भएको गोल काण्ड, सहकारी चोरी काण्ड भने डिएसपी थापाको कार्यकालमा पनि रहस्यको गर्भमै रहे ।