अत्तरिया – कैलालीको धनगढीबाट लागू औषध सहित २ जना पक्राउ परेका छन् । शनिवार धनगढी उपमहानगरपालिका – २ ब्यारेल स्थित भारतबाट नेपाल आउँदै गरेको अवस्थामा बैतडीको दशरथ चन्द नगरपालिका – १ का २७ वर्षीय वीरेन्द्र सिंह भाट पक्राउ परेका छन् ।

उनको साथबाट ६६० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित वडा प्रहरी कार्यालय धनगढी र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यस्तै शनिवार नै धनगढी उपमहानगरपालिका – २ भन्सार कार्यालय नजिकबाट डोटीको जोराईल गाउँपालिका – १ गैराका २४ वर्षीय किरण बहादुर विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उनको साथबाट २ ग्राम १२० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।