अत्तरिया – गोदावरी मोबाइल संघले कैलालीको अत्तरिया बसपार्कमा निःशुल्क सर्बत पानी वितरण गरेको छ । गर्मीको समयमा यात्रुहरूलाई राहत होस भन्ने उद्देश्यले ‘सामाजिक सद्भावना, व्यवसायीक सुरक्षा हक, अधिकार हाम्रो कामना’ भन्ने नाराका साथ संघले शनिवार सर्बत पानी वितरण गरेको हो ।
संघका अध्यक्ष गङ्गा प्रसाद निरौला मोबाइल व्यवसायीले व्यवसायी मात्रै नगरेर सामाजिक उत्तरदायित्व वहन गरेर गर्मीको समयमा यात्रुलाई राहत होस भनेर पानी वितरण गरिएको बताए ।


‘नौ जिल्लाकै मुख्य प्रवेशद्वार अत्तरिया बसपार्कमा यहाँ भएका यात्रुहरूलाई, बाटोमा हिँड्ने पैदलयात्रुहरुलाई गर्मीको समयमा धेरै नसके पनि चिसो मिठो पानी वितरण गरेका हौ’ उनले भने ‘हामी सबै व्यवसायी मिलेर यो कार्यक्रम आयोजना गरेका हौ ।’
उनले ३ हजार लिटर पानी वितरण गर्ने लक्ष्य अनुसार पानी वितरण गरिएको बताए ।
