धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बोलाएको सर्वदलिय बैठक नेकपा माओवादी केन्द्रले बहिस्कार गरेको छ । भारत भ्रमणको तयारीमा रहेको सुदूरपश्चिम सरकारले सोकै विषयमा बोलाएको सर्वदलिय बैठक माओवादी केन्द्रले बहिस्कार गरेको हो ।
मुख्यमन्त्री शाहको नेतृत्वमा आगामी १६ गतेदेखि २२ गतेसम्म १० सदस्यीय टोली भारत जान लागेको छ । भारतीय विदेश मन्त्रालयको व्यवस्थापनमा मुख्यमन्त्रीसहितको टोली भारत जाने तयारीकाबीच मुख्यमन्त्री शाहले बिहीबार सर्वदलीय बैठक बोलाएका थिए ।


बिहान ११ बजे सर्वदलीय बैठकका आउन भन्दै नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले जानकारी गराएका थिए । तर, उक्त बैठक प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले बहिस्कार ग¥यो । सरकारले प्रदेश सभा बैठक अन्त्य गरेर प्रश्नहरूबाट भागिरहेकाले यस्तो अवस्थामा बोलाएको बैठकको कुनै औचित्य नभएको माओवादी केन्द्र संसदीय दलका नेता मानबहादुर धामीले बताए ।
धामीले आफू संसदीय दलको नेता हुँदा पनि मुख्यमन्त्रीले आधिकारिक खबर नगरेकोमा पनि गुनासो पोखेका थिए । माओवादी केन्द्रसँगको छलफलपछि नेकपा एकीकृत समाजवादी पनि बैठकमा नगएको उनले बताए ।
सुदूरपश्चिम प्रदेश सभामा सहभागी सबै दलहरूलाई छलफलमा बोलाइएको थियो । उक्त छलफलमा कांग्रेसको तर्फबाट मुख्यमन्त्री शाहसहित प्रमुख सचेतक विक्रम धामी, नागरिक उन्मुक्ति पार्टीबाट संसदीय दलको नेता घनश्याम चौधरी र प्रमुख सचेतक इन्दिरा गिरी, राप्रपाका खेमादेवी विष्ट र स्वतन्त्र सांसद डा. तारा जोशी मात्रै सहभागी थिए ।
नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक नरेश शाहीले कार्य व्यस्तता हुँदा बैठकमा नगइएको बताए । सत्तारुढ दल नेकपा एमालेका संसदीय दलका नेता प्रमुख समेतक पनि काठमाडौँ रहेको हुँदा उक्त बैठकमा सहभागी भएनन् । माओवादीले बहिस्कार गर्दा सत्ता पक्ष विपक्षकै उपस्थिति नहुँदा छलफल अनौपचारिक भएको थियो ।
