खाेज्नुहाेस

गोदावरीमा प्याज पकेट विकास कार्यक्रम : प्याजमा आत्मनिर्भर बन्ने योजना

Image

अत्तरिया– मानिसहरूको दैनिक जीवनमा आवश्यक पर्ने तरकारीजन्य वस्तुहरूमा प्याज प्रायः अनिवार्य जस्तै बनेको छ । नेपाली भान्सामा मसाला, तरकारी र सलादका रूपमा प्रयोग प्याज प्रयोग गरिन्छ । प्याजको माग दिनानुदिन बढ्दै गइरहेको अवस्थामा उत्पादन भने कम छ । नेपालमा करिब ७ अर्ब रुपैयाँको प्याज वार्षिक रूपमा आयात भइरहेको छ । नेपालमा भारत, चीन, बंगलादेश लगायतका मुलुकहरूबाट प्याज आयात हुने गर्दछ । जसमध्ये झन्डै ९७ प्रतिशत प्याज भारतबाट भित्रिन्छ ।

मागअनुसार स्वदेशमा उत्पादन नहुँदा समय समयमा भारतले लगाउने निर्यात प्रतिबन्धले नेपाली उपभोक्ता समस्यामा पर्ने गरेका छन् । आयात प्रतिस्थापनका लागि नेपालमा ‘प्याज मिसन’ कार्यक्रम सञ्चालनमा आएको भए पनि हचुवाको भरमा कार्यक्रम सञ्चालन हुँदा सरकारले कार्यक्रमबाट प्रतिफल पाउन सकेन ।

attariya hospital

भारत सरकारले पटक पटक प्याजमा लगाउने प्रतिबन्धका कारण स्थानीय निकायहरूले प्याजमा आफूलाई आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रमहरू सुरु गर्न थालेका छन् । कैलालीको गोदावरी नगरपालिकाले पनि प्याजमा आत्मनिर्भर बन्न प्याज पकेट विकास कार्यक्रम सञ्चालन गरेको छ । सो कार्यक्रम अन्तर्गत नगरपालिकाले वडा नं. ११ र १२ का किसानहरूलाई निःशुल्क रूपमा प्याजको बीउ वितरण गरेको छ । नगरपालिकाकी कृषि शाखा प्रमुख नन्दी मल्लले पालिकालाई प्याजमा आत्मनिर्भर बनाउने सोचका साथ पहिलो पटक २ वटामा प्याजको बीउ वितरण गरिएको बताइन ।

navjiwan hospital

‘अहिले २ वडामा प्याजको बीउ वितरण गरेका छौ’ उनले भनिन् ‘असोजमा वितरण गरिएको प्याजको बीउको विकास राम्रो भएको किसानहरूले बताउनुभएको छ । उत्पादन कति हुन्छ भन्ने कुरा केही दिन पछि थाहा हुन्छ ।’

उनले किसानहरूले प्याज भित्र्याउन बाँकी रहेकाले उत्पादनको तथ्याङ्क प्राप्त नभएको बताइन । उनका अनुसार नगरपालिकाले करिब डेढ लाख लगानीमा १० हेक्टर जमिनका लागि प्याजको बीउ वितरण गरेको थियो । मल्लले प्याजको आयातमा न्यूनीकरण ल्याउन नगरपालिकाले चालु आर्थिक वर्षमा प्याजको बीउ वितरण गरेको बताइन । उनले उत्पादनको तथ्याङ्कका आधारमा सो कार्यक्रम आगामी वर्षहरूमा पनि सञ्चालन गर्ने योजना रहेको बताइन ।

maya metro hospital

तत्कालीन कृषि मन्त्रालयले आर्थिक वर्ष २०६४/०६५ देखि २०६९/०७० सम्म ‘प्याज मिसन’ अभियान सञ्चालन गरेको थियो । अभियानको नाममा सरकारले ६० करोड रुपैयाँ खर्च गरेको तर तर असफल बनेपछि सरकारले २०७० मा यो कार्यक्रम नै खारेज गरेको कृषिविज्ञहरु बताउँछन् । हाल सरकारको प्याज आयातमा बर्सेनि करिब ७ अर्ब भन्दा बढी रकम खर्च हुने गरेको छ ।

प्याजको आयात लगातार बढेपछि कृषि मन्त्रालयले करिब एक दशकअघि ‘मिसन प्याज’ कार्यक्रम अगाडि सारेको थियो । देशभित्रै प्याजको उत्पादन बढाउन तराईका रुपन्देही, सप्तरी, सिराहा, रौतहट, बारा लगायत जिल्लामा यो अभियान लागू गरिएको थियो । किसानलाई प्याजको उन्नत बीउ बिजन, मल र सिँचाइमा अनुदान लगायत प्रोत्साहनको योजना यसले अगाडि सारेको थियो ।

Karma Consultancy

तर बीउको अभावका कारण उक्त कार्यक्रम प्रभावकारी हुन सकेको थिएन । नेपालमा एक सिजनमा मात्रै उत्पादन हुने भएकाले पनि प्याजको आयात दिनानुदिन बढ्ने गरेको छ । नेपालमा प्रायः मंसीर–पुसमा रोपेर चैत–वैशाखमा उत्पादन हुने गरी एक मौसममा मात्र प्याज खेती गरिन्छ । यसरी उत्पादित प्याज अधिकांश घरायसी प्रयोजनमै प्रयोग हुन्छ । व्यावसायिक रूपमा उत्पादन गरी बजारमा पठाउने किसान कमै छन् ।