अत्तरिया – कैलालीको चौकिडाँडा –फल्टुडे सडक अन्तरगत दुई यस्ता ठेकेदार झन् जसले पटक–पटक स्थानीयलाई झुक्काएर विगत ६ वर्ष देखि सडक अलपत्र पारेका छन् । २०७७ भदौ १८ गते मालाखेती सेतो पुलदेखि वडा नम्बर १० को कार्यालय सम्म अढाई किलोमिटर कालोपत्रे गर्ने ठेक्का पाएको एड्भेन्चर, थेगिङ, सनलाइट जेभी र २०७९ चैत्र १८ गते वडा कार्यालय देखि बान्नी साल सम्म २२ सय मिटर सडक कालोपत्रे गर्न ठेक्का पाएको तेडी निर्माण सेवाले तोकिएको म्याद सकिदा पनि स्थानीयलाई झुक्काएर सडक अलपत्र पारेका हुन ।

काम गर्ने भन्दै पटक पटक झुक्काउँदै आएको ठेकेदारबाट आजित भएका स्थानीय र सो क्षेत्रका जनप्रतिनिधि सोमबार दुवै सडकका ठेकेदारलाई कारबाही गर्न माग गर्दै कैलालीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कार्यालय पुगेका थिए । तर, झुक्काउन बानी परेका ठेकेदारले मंगलबार सिडिओ गोगन बहादुर हमाललाई पनि झुक्काइ छाडेका छन् । सिडिओ कार्यालयमा भएको छलफलमा तेडी निर्माण सेवाका ठेकेदारले मंगलबार (चैत २६) देखि काम सुरु गर्ने बताएका थिए । सोही अनुसार सिडिओको निर्देशनमा ठेकेदार आए नआएको हेर्न निर्माण क्षेत्रमा प्रहरी पुगे पनि ठेकेदार भने देखा परेनन् ।

दुवै सडक प्रदेश सरकारको भौतिक पूर्वाधार विकास कार्यालय अन्तरगत निर्माण भइरहेका छन् । भौतिक पूर्वाधार विकास कार्यालय धनगढी प्रमुख राम चन्द्र खत्रीले सम्झौता अनुसार दुवै ठेक्काको म्याद सकिएको भए पनि काम सम्पन्न नभएको बताए । उनले पटक पटक ताकेता गर्दा पनि ठेकेदारले काम नगरेको बताए ।

सिडियो कार्यालयमा सोमबार भएको छलफलमा एड्भेन्चर, थेगिङ, सनलाइट जेभीका ठेकेदारले भने वैशाख २ गते देखि काम गर्ने बताएका थिए । उक्त सडकको तेस्रो पटक थपिएको म्याद पनि गत आर्थिक वर्षको असार मसान्तमै सकिएको थियो । तेडीको म्याद पनि साउनमा सकिएको भौतिक पूर्वाधार विकास कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकार हमालले तेडी निर्माण सेवाका ठेकेदारले मंगलबार देखि काम गर्छु भने पनि काम नगरेको पाइएको बताए । उनले ठेकेदार काममा आए नआएको हेर्न वडाध्यक्ष सँगै प्रहरी पठाएको बताए । उनले मंगलबार किन ठेकेदार काममा आएनन् भन्ने बारेमा बुझ्न बाँकी रहेकाले त्यसपछि आवश्यक प्रक्रिया अगाडि बढाउने बताए ।
गोदावरीको वडा नम्बर १२ का वडाध्यक्ष भीम बहादुर खड्काले मंगलबार पनि ठेकेदारले झुक्काएकाले अब प्रहरीमा ठेकेदारका नाममा जाहेरी दिने तयारी गरिएको बताए । उनले ठेक्का सम्झौताका सबै कागजात पूर्वाधार कार्यालयबाट ल्याइसकेकाले अब पक्राउका लागि प्रहरीमा जाहेरी दिने बताए ।
वडा नम्बर १० का वडाध्यक्ष रवीन्द्र शाही (गुड्डु) ले आफ्नो क्षेत्रमा परेका दुई ठेकेदारले दिनु सम्म दुःख दिएको बताए । ‘वडा, नगर, यस क्षेत्रका जनप्रतिनिधि सबै लागेर यो सडकमा बजेट हाल्न सफल भयौ । तर, काम गर्ने थर्ड क्लास ठेकेदार परेर काम हुन सकेको छैन । थेगिम र तेडीका ठेकेदारले विगत ५/६ वर्षदेखि दुख दिएको छ’ उनले भने ‘सडक नबन्दा यस क्षेत्रमा अहिले पनि सर्वसाधारणले निकै सास्ती खेप्नु परिरहेको छ । सुत्केरी, सर्पले टोकेका बिरामीलाई अस्पताल लग्न पनि निकै समस्या हुने गरेको छ ।’
उनले ठेकेदारले काम नगर्दा अहिले जनप्रतिनिधिको कार्यकाल नै फेल भएको जस्तो अवस्था भएको बताए । ‘थेगिमको ओनर हरिहर पन्त, तेडी निर्माण सेवाको ओनर सिद्ध ओली र वहाँको बुबा एकदमै झुटो बोल्नमा माहिर छन् । वहाँहरू हाम्रो समाज रूपान्तरणको बाधक बनेका छन्’ उनले भने ‘हामीले सिडिओ साप सँग पनि गएका छौ । वहाँले ठेकेदारलाई थुन्ने भएका थिए । तर, वहाँहरू थुनिनु भएको छैन ।’ उनले ठेकेदारहरूले ५ दिन काम गर्ने र, त्यसपछि बेपत्ता हुने गरेको बताए ।
उनले काम नगर्ने ठेकेदारलाई पूर्वाधार कार्यालयले कारबाही नगरेको बताए । ‘हामी सय चोटि ठेकेदारलाई कारबाही गरिदिनुप¥यो भनेर पूर्वाधार कार्यालयमा गएका छौ । तर, अहिले सम्म कारबाही भएको छैन’ उनले भने ‘वहाँहरू उल्टै टपक्क सुपरम्यान आएजस्तै म्याद थपिदिनु हुन्छ कसरी म्याद थप्नुहुन्छ । वहाँको म्याद कसरी थपिन्छ ? वहाँहरूलाई त जेल सजाय हुनुपथ्र्यो ।’
स्थानीय भीम बहादुर जैगडीले ५/७ वर्ष बितिसक्दा पनि सडक नबन्दा निकै सास्ती खेप्नुपरेको बताए । उनले स्थानीय जनप्रतिनिधिले निर्माणका लागि पहल गरिरहेको बताउने गरे पनि काम भने नभएको बताए । ‘वहाँहरूको पावरै नपुगेर हो की या टेर्दै नटेरेका हुन’ उनले भने ‘अब अहिलेका ठेक्का खारेज गरेर नयाँ निर्माण कम्पनीलाई ठेक्कामा लगाउनु पर्छ ।’
चौकिडाँडा फल्टुडे सडक अन्तरगत जिरो पोइन्ट देखि मालाखेती सेतो पुल सम्मको सडक भने कालोपत्रे भइसकेको छ । उक्त सडक एडिबीको ऋण सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना अन्तरगत निर्माण भएको हो ।
चौकिडाँडा फल्टुडे सडक अन्तरगत नै बान्नी साल देखि माथि कृष्ण मन्दिर सम्मको सडक भने तोकिएको समयमै काम सक्ने गरी निर्माण भइरहेको वडाध्यक्ष भीम खड्काले बताए । उनले उक्त क्षेत्रका सडक संघीय सरकार मातहतमा निर्माण भइरहेको बताए ।