अत्तरिया – कैलालीको अत्तरियामा गत आर्थिक वर्षको असार मसान्तमा टालटुल गरिएका सडकका खाल्डा पुनः टाल्न सुरु गरिएको छ । असारको झरी सँगै हतार हतारमा टालिएका खाल्डाको कालोपत्रे उप्किएपछि पुनः यस वर्ष दुई करोड ५० लाख खर्च गरेर सडक मर्मत गर्न लागिएको हो ।
सडक डिभिजन कार्यालय महेन्द्रनगर अन्तरगत गत आर्थिक वर्ष ४० लाख बजेटमा भीमदत्त राजमार्गको अत्तरिया देखि बुढितोला सम्म खाल्डा टालटुल गरिएका थिए । असारको झरीसँगै अत्तरिया क्षेत्रमा टालटुल गरिएका खाल्डा साउनमै उप्किन सुरु गरेका थिए ।
यस वर्ष सडक डिभिजन कार्यालयले पुनः अत्तरिया चोकदेखि १४ किलोमिटर सडक टालटुल गरेर रिसिल गर्न लागिएको जनाएको छ । सडक डिभिजन कार्यालयका इन्जिनियर चित्र चौलागाईले खाल्डा भएको ठाउँमा टालेर १४ किलोमिटर सडकमा माथिबाट दाना (मसिनो गिट्टी) हालेर ओभरले गरिने बताए ।

उनले गत वर्ष रिकभरी मेन्टेनेस्न मात्रै भएको बताए । ‘त्यसमा ३ महिना कन्स्ट्रक्सन पिरियड, ३ महिना डीएलपी अर्थात् ३ महिना भित्र बिग्रिएमा कन्स्ट्रक्सन कम्पनीले बनाउने सम्झौता हुन्छ’ उनले भने ‘त्यो टालटुल टालेको धेरै टिक्दैन ।’ उनले अहिले भइरहेको मर्मत भने फरक किसिमको भएकाले अलि बढी दिगो हुने बताए ।

उनले रोडमा छरिने मसिनो गिट्टी रोलरले दबाइने भएकाले सडकमै चिप्किने बताए । उक्त कामका लागि आरडीआपीएसके जेभी सँग ठेक्का सम्झौता गरिएको छ । सडक मर्मतको काम सक्न असार मसान्त सम्मको समयावधि तोकिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ । सो सडक खण्डमा गत आर्थिक वर्ष सडक रिकभरी मेन्टेनेन्स अन्तरगत काम गर्न महाकाली कन्स्ट्रक्सन सँग ठेक्का सम्झौता गरेर काम गरिएको थियो ।

८ सय मिटर नाला निर्माण
सडक डिभिजन कार्यालयले हाल राजमार्गको तेघरी क्षेत्रमा ८ सय मिटर नाला पनि निर्माण गरिरहेको छ । सो क्षेत्रमा सडकमा पानी जम्ने भएकाले यस वर्ष ५० लाख खर्चेर ८ सय मिटर नाला निर्माण गर्न लागिएको हो । सडक डिभिजन कार्यालयका इन्जिनियर चौलागाईले सो क्षेत्रमा सडकमा पानी जमेर छिटो बिग्रने भएकाले नाला निर्माण गर्न लागिएको बताए । उनले बजेट अभाव भएका कारण यस वर्ष ८ सय मिटर मात्रै नाला निर्माण गर्न लागिएको बताउँदै आगामी आर्थिक वर्षमा यसलाई निरन्तरता दिइने बताए । नाला निर्माणका लागि एनएस निर्माण सेवा सँग ठेक्का सम्झौता गरिएको छ । नाला निर्माणको म्याद पनि असार मसान्त सम्म तोकिएको छ । तेघरी क्षेत्रमा राजमार्गको दुबै छेउमा घर निर्माण भए पनि नाला नहुँदा बर्सातमा सडक डुबानमा पर्ने गरेको छ ।

यसअघि प्रकाशित सम्बन्धीत समाचार : अत्तरियामा टालिएका सडकका खाल्डा एक सातामै उप्किए