धनगढी– कैलालीबाट भूतपुर्व सैनिक सम्मेलन सुरु भएको छ । ‘भूतपूर्व सैनिक सम्मेलनको प्रणः पुनर्मिलन, हिताधिकरीको कल्याण र कोषको दिगोपन’ नाराका साथ यस वर्षको भूपू सैनिक सम्मेलन कैलालीको अत्तरियामा रहेको सुदूरपश्चिम पृतना मुख्यालयबाट सुरु भएको हो ।
प्रधानसेनापति अशोकराज सिग्देलले बिहिबार गोदावरी नगरपालिकास्थित सुदूरपश्चिम पृतना तेघरी ब्यारेकमा आयोजित विशेष समारोहमा उक्त सम्मेलनको उद्घाटन गरे । सम्मेलनमा कैलाली र कञ्चनपुरमा बसोबास गर्ने २ हजार ९२५ भूपू सैनिक सहभागी रहेका छन् ।


बिहिबार नै सुदूरपश्चिम पृतनाअन्तर्गत डोटी, अछाम, बाजुरा, बझाङ, बैतडी, डडेलधुरा र दार्चुलामा पनि एकैसाथ सम्मेलन सुरु भएको नेपाली सेनाका प्रवक्ता सहायकरथी गौरवकुमार केसीले जानकारी दिए ।
सम्मेलनको उद्घाटन सत्रमा भूपू सैनिकबाट मार्चपास, एकल महिलाका तर्फबाट प्लेकार्डसहितको मार्च पास, सुदूरपश्चिमको स्थानीय कला संस्कृति झल्कने झाँकी तथा नाच र सैनिक शारीरिक क्षमता झल्कने पिटी र सैनिक ब्याण्डद्वारा प्रदर्शन गरिएको थियो ।
सम्मेलनका दौरान ज्येष्ठ भूतपूर्व सैनिक तथा एकल महिलालाई सम्मान, ह्विलचियर÷वैशाखी प्रदान, लघु उद्यम व्यवसायीलाई प्रशंसापत्र एवं पुरस्कार प्रदान गरिएको छ । नेपाली सेनामा चार जनाभन्दा बढी सन्ततिलाई सेनामा पठाएबापत अभिभावकलाई सम्मान, सहुलियत पूर्ण कर्जा चेक हस्तान्तरण र प्रधान सेनापति प्रशंसा निसान प्रदान गरियो ।
प्रत्येक प्रधानसेनापतिले आफ्नो तीनवर्षे कार्यकालमा कम्तीमा एकपटक प्रदेशस्तरमा यस्तो सम्मेलन गर्ने चलन रहिआएको छ । विसं २०७० असोजमा सैनिक कल्याणकारी बोर्ड स्थापना भएपछि यस कार्यले निरन्तरता पाउँदै आएको छ । सेनाले हिताधिकारीको जीवनस्तरमा सुधार ल्याउन शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार एवं सेवा र सहुलियतका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सैनिक कल्याणकारी बोर्डबाट स्वास्थ्य, शिक्षालगायतका सेवा प्राप्त गर्ने हिताधिकारीको सङ्ख्या १० लाखभन्दा बढी छ । सेना भूपू सैनिक र तिनका आश्रित परिवारको कल्याणका खातिर स्थापित सैनिक कल्याणकारी कोष बहुआयामिक र अधिकतम उपयोग आयमूलक कार्यमार्फत हिताधिकारीको जीवनस्तर उकास्ने प्रयासमा छ ।