धनगढी – कैलालीको टीकापुरमा फागुन २४ गतेदेखि ‘टीकापुर साहित्य महोत्सव’ हुने भएको छ । टीकापुर साहित्य समाजले साहित्य महोत्सवको दोस्रो संस्करण फागुन २४ गतेदेखि २६ गतेसम्म आयोजना गर्न लागेको हो ।

यसपटकको महोत्सव नेपालका प्रथम नाटककार पहलमानसिंह स्वाँर विशेष हुने आयोजक टीकापुर साहित्य समाजले विज्ञप्तिमार्फत जानकारी दिएको छ । महोत्सवमा जम्मा २१ बहस सत्र रहनेछन् । जसमा आख्यानकार नारायण ढकाल, केशव दाहाल, बुद्धिसागर, सरस्वती प्रतीक्षा, प्रगति राई, सगुना शाह, रञ्जना निरौला, सुमन वर्षा घिमिरे, प्रभा बराल आदिले नेपाली आख्यानका विविध विषयमा बहस गर्नेछन् ।

गैरआख्यानकार विन्दु सुवेदी, युवराज नयाँघरे, प्रतीक ढकाल, मोहन मैनाली, घनश्याम खड्काले नेपाली गैरआख्यान र जीवन–दर्शनबारे विचार–विमर्श तथा विश्लेषण गर्नेछन्। समालोचक लक्ष्मणप्रसाद गौतम, ज्ञानु अधिकारी, डा. व्रतराज आचार्यका साथै सुदूरपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति अम्मरराज जोशी तथा धनञ्जय तिमिल्सिनाले नेपाली साहित्यमाथि आलोचनात्मक विचार प्रस्तुत गर्नेछन् ।
टीकापुर साहित्य महोत्सव आयोजनाको मुख्य प्रवद्र्धक सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय रहेको छ भने सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान महोत्सवको प्रवद्र्धक रहेको छ । सहप्रवद्र्धक टीकापुर नगरपालिका र जानकी गाउँपालिका रहनेछन् ।
















