खाेज्नुहाेस

जसले वडाध्यक्ष राहत कोष निर्माण गरी गर्दैछन असहायलाई सहयोग

Image

अत्तरिया – २०७९ सालको स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा वडाध्यक्षको प्रबल दाबेदारका रूपमा थिए, उनी । अघिल्लो निर्वाचनमा ३२ मतले निर्वाचन हारेका उनले दोस्रो स्थानीय तहको निर्वाचनमा आफूलाई बलियो प्रतिस्पर्धीका रूपमा उभ्याइसकेका थिए । नेपाली कांग्रेसका नेता समेत रहेका उनको कांग्रेसको नेकपा एकीकृत समाजवादीसँगको सहकार्यका कारण वडामा टिकट पाउने अवस्था थिएन । तर पनि पार्टी नेतृत्वलाई चुनौती दिन भन्दै नयाँ प्यानल खडा गरी उनले स्वतन्त्र रूपमा वडाध्यक्षमा उम्मेदवारी दिए, र चुनाव जिते पनि । उनी हुन कैलालीको गोदावरी नगरपालिका– ११ का वडाध्यक्ष प्रेम सिंह बडैला ।

पार्टीको समाजवादीसँगको सहकार्यका कारण टिकट गुमाउनुपर्ने अवस्था आएपछि चुनावको मुखमा नेपाली कांग्रेसबाट राजीनामा दिएर उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । अघिल्लो निर्वाचनमा ३२ मतले पछाडि परेका बडैला २०७९ को निर्वाचनमा भने निकटतम प्रतिस्पर्धीलाई ५०१ मतले पराजित गर्न सफल भए ।

attariya hospital

स्वतन्त्र रूपमा निर्वाचन जितेका बडैलाले तत्कालै वडाध्यक्ष राहत कोष खडा गरी असहायहरूलाई सहयोग गर्न सुरु गरेका छन् । ‘मैले निर्वाचनका समयमा राज्यबाट पाइने सेवा सुविधा नलिने घोषणा गरेको थिए’ अत्तरिया खबरसँग कुरा गर्दै उनले भने ‘वडावासीसामु गरेको घोषणालाई कार्यान्वयन गर्ने सिलसिलामा वडाध्यक्ष राहत कोष बनेको हो, जसमा मैले आफूले पाउने सेवासुविधाहरु राख्ने गरेको छु ।’

उनले उक्त राहत कोषको सञ्चालनका लागि ७ सदस्यीय समिति पनि बनाइएको बताए । जसको नेतृत्व जंग बहादुर बडैलाले गरिरहेका छन् । समितिले वडाको अनुगमन गरी असहाय तथा आर्थिक अवस्था एकदमै नाजुक भएका परिवारहरूलाई तत्काल आवश्यक पर्ने कुराको विवरण राख्ने गरेको छ । जसपश्चात् सो विवरण अनुसार कोषबाट सहयोग गर्ने काम गरिँदै आएको वडाध्यक्ष बडैलाले बताए ।

सो कोषमा वडाध्यक्ष बडैलाले मात्रै आफ्नो सेवा सुविधा बापतको रकम जम्मा गर्ने गरेका छन् । उनले वडामा रहेका असहाय तथा आर्थिक अवस्था एकदमै नाजुक भएका परिवारलाई सहयोग गर्ने उद्देश्यले राहत कोष स्थापना गरिएको बताए ।

maya metro hospital
navjiwan hospital

बडैलाले सो कोष मार्फत नै वडामा रहेका आर्थिक अवस्था नाजुक भएका परिवारलाई सहयोग गर्दै आएका छन् । अति आवश्यक परेका परिवारलाई खानेपानीको धारा जडान तथा सामग्री सहयोग गर्ने, बिजुली नभएका परिवारलाई मिटर सहित बिजुली जडान गर्ने, जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई स्टेशनरी सामग्री सहयोग गर्ने लगायतका काम कोषमार्फत हुँदै आएका छन् ।

त्यति मात्रै नभई कोषकै रकमले केही वडावासीहरूको चर्पी निर्माणमा सहयोग गरिएको र केहीलाई घर छाउनका लागि पनि सहयोग गरिएको समितिका संयोजक जंग बहादुर बडैलाले बताए । ‘वडाध्यक्षज्यूले आफूले पाउने सेवासुविधाहरु कोषलाई दिनुहुन्छ’ उनले भने ‘सो कोषबाट हामीहरूले वडामा अति विपन्न परिवारलाई उनीहरूको आवश्यकता अनुसारका कार्यहरूमा सहयोग गर्ने गरेका छौ ।’

Karma Consultancy

समितिका संयोजक बडैलाका अनुसार हालसम्म कोषमार्फत वडाका ४ परिवारलाई मिटर सहित पिउने पानीको धारा जडान गरिएको छ भने एउटा परिवारलाई टिन खरिद गरेर घर छाउने काम गरिएको छ । त्यस्तै कोषमार्फत नै ३ परिवारलाई घर वायरिङ गरेर विद्युत् मिटर सहित बत्ती बाल्ने काम गरिएको, ३ जना विद्यार्थीलाई स्टेशनरी सामग्री सहयोग गरिएको र २ परिवारको चर्पी निर्माण गर्ने काम गरिएको संयोजक बडैलाले बताए । त्यति मात्रै नभई एक जना बिरामीलाई कोषमार्फत नै उपचार खर्च दिइएको पनि उनले बताए ।

वडाध्यक्ष बडैलाले कोष निर्माण गरेर वडाका आर्थिक अवस्था नाजुक भएका परिवारलाई सहयोग गर्ने काम मात्रै गरेका छैनन्, उनले एक जना विद्यार्थीलाई विएस्सी अध्ययनका लागि सहयोग पनि गर्दै आइरहेका छन् । वडाध्यक्ष बडैलाले सोही वडाका विद्यार्थी कृष्ण बहादुर रावललाई बिएस्सी अध्ययनका लागि वार्षिक २५ हजार सहयोग गर्दै आएका छन् ।

हाल धनगढीमा रहेको ऐश्वर्या विद्या निकेतनमा छैटौँ सेमेस्टरमा अध्ययनरत रावललाई उनको बिएस्सी फाइनल नहुञ्जेलसम्म आफूले सहयोग गर्दै जाने बडैलाले बताएका छन् । ‘उक्त विषय अध्ययनका लागि वार्षिक २५ हजार रुपैयाँ दिनुपर्दो रहेछ, पढाइमा राम्रो भएकाले मैले सो विद्यार्थीको पढाइको खर्च दिने निर्णय गरेको हु’ अध्यक्ष बडैलाले भने ‘चौथो सेमेस्टरसम्मको रकम बुझाई सकिएको छ, अब बाँकी रहेको रकम यो वर्ष बुझाउन बाँकी छ ।’

वडाध्यक्ष बडैलाले राज्यबाट पाइने सेवासुविधाहरु आफूले लिएका छैनन् । त्यस्ता सेवासुविधाहरु अन्य आवश्यक स्थानमा खर्च गर्ने गरेका छन् । नगरपालिकाबाट पाइएको सवारी साधन उनले आफूले प्रयोग गरेका छैनन्, नत पेट्रोल नै प्रयोग गर्छन् । नगरपालिकाबाट मासिक रूपमा पाइने १० लिटर पेट्रोल वडामै रहेको अस्थायी प्रहरी पोस्ट गौडीलाई दिने गरेको बडैलाले बताए । वडावासीलाई आवश्यक पर्ने कुराहरूको जोहो गर्नका लागि आफू कहिल्यै पछि नहट्ने उनले बताउने गरेका छन् ।