नेतातन्त्र भयो यहाँ मुलुकमा – हाम्रो प्रजातन्त्र खै !
पार्टीतन्त्र चल्यो अँझै प्रवल भै – मात्तेर यो देश मै ।।
व्यर्थै शब्द रटान गर्छ दुनियाँ – बोल्दै प्रजातन्त्रको ।
सत्ता शक्ति प्रमत्तमै छ अहिले – संघीय गणतन्त्रको ।।
।।१।।
पाइन्नन् व्यवहार सभ्यपनका – हेर्दा प्रजातन्त्रमा ।
देखिन्नन् शुभ कर्मकारक कुनै – सत्ता र नेता यहाँ ।।

भेटिन्नन् समदर्शिता अभयता – खोज्दा प्रजातन्त्रमा ।
अल्प्यो शान्ति र चैन यो समयमा – ऐले प्रजातन्त्रमा ।।
।।२।।
छाडातन्त्र छ सर्व व्याप्त अहिले – स्थानीय केन्द्रै तक ।
सत्तातन्त्र छ सार्वभौमिक स्वयम् – मान्दैन केही धक ।।

कुर्सीका पदका निमित्त दिनहूँ – उर्लिन्छ आन्दोलन ।
जन्ता हेर्दछ मूकदर्शक बनी – तिम्रा सबै क्रन्दन ।।
।।३।।
जन्ता दोहनमै छ बोझ करका – चर्का महङ्गी सित ।
जन्ताको गति जाँच बुझ नगरी – लाद्यौ यहाँ बेरित ।।
जन्ता छन् परतन्त्रमा यदि भने – को भन्छ गणतन्त्र छ ।
शास्ती मात्र छ छैन सुख्ख–सुविधा – सन्त्रास सर्वत्र छ ।।
।।४।।
भ्रष्टाचार विकास बोधक भयो – अन्याय औधी भयो ।
अत्याचार भयो सबैतिर अँझै – उन्माद औंधी भयो ।।

बढ्दैछन् व्यभिचारकारकहरु – बिर्सी विवेकीपन ।
मान्छे ज्यूँनछ वाध्य यो समयमा – आक्रान्तको जीवन ।।
।।५।।
राष्ट्रैमा समयानुसार जहिले – जे–जे व्यवस्था चलुन् ।
सत्ताले मनमौजले मुलुकमा – मात्तेर जे–जे गरुन् ।।
नेतामा जन चाहना सहितको – सद्भावना लुप्त छ ।
जन्ता जो छ जहाँ छ त्यै किसिमको – संत्रासमा सुप्त छ ।।
