अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ११ स्थित सरस्वती माध्यमिक विद्यालयमा माध्यमिक तहमा गणित विषय शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको छ । चैत ७ गते देखि एसइई परीक्षा सञ्चालन हुन गइरहेको भए पनि यस विद्यालयका भने विगत २ महिना देखि शिक्षक नहुँदा गणित विषयको नियमित पठनपाठन हुन सकेको छैन ।
विद्यालयमा अध्यापन गराउँदै आएका आन्तरिक श्रोतका शिक्षकले पुस १२ गते जागिर छोडेका थिए । त्यसपछि ढिलो गरी नयाँ शिक्षकका लागि विज्ञापन आह्वान गरिएको भए पनि अहिले आवेदन दिएकाहरूको परीक्षा गर्नमै ढिलाइ गरिएको छ । विद्यालयले माघ ७ गते माध्यमिक तहको गणित शिक्षकको लागि संघीय शिक्षण सिकाई अनुदान कोटामा विज्ञापन आह्वान गरेको थियो ।
विज्ञापनमा तोकिएको म्याद माघ २२ गते सम्म ३ जनाले आवेदन दिएका भए पनि अहिले सम्म छनोट परीक्षा हुन सकेको छैन । शिक्षकको लागि आह्वान गरिएको विज्ञापनमा माघ २३ गते नै सम्पर्क मिति राखिएको थियो । २ साता सम्म छनोट परीक्षाको लागि प्रक्रिया अगाडि नबढ्दा उक्त विद्यालयमा कक्षा १० को परीक्षाको तयारीमा रहेका ११५ जना विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।


विद्यालयका प्रधानाध्यापक केदार नाथ पन्तले सुरुमा प्रक्रिया पु-याउन ढिलाइ भए पनि पछिल्लो समय अध्यक्ष बिरामी भएकाले ढिलो भएको बताए । ‘परीक्षा सञ्चालनका लागि पनि विद्यालय व्यवस्थापन समितिको बैठक बसाउनुपर्ने हुन्छ’ उनले भने ‘अध्यक्ष ज्यूलाई बैठक बसाइदिनुप-यो भनेको हु, वहाँ बिरामी छु भन्नु भएकाले बैठक बस्न सकेन । अब अध्यक्षले बैठक बसाएपछि परीक्षाको प्रक्रिया अगाडि बढ्छ ।’
उनले प्रधानाध्यापकले मात्रै छिटो चाहेर नहुने भएकाले ढिलाइ भएको बताए । उनले विद्यालय व्यवस्थापन प्रमुख, नगरपालिकाको शिक्षा शाखाले समय दिनुपर्ने भएकाले ढिलाइ भएको बताए । उनले पछिल्लो पटक नगरपालिकाले फागुन ५ गतेको लागि समय दिएको भए पनि विद्यालयमा बैठक बस्न नसकेको बताए । उनले सोमबार देखि भने गुलरियाबाट एक जना गणित शिक्षक बोलाएर बिहान बेलुकीको समयमा पढाउन सुरु गरेको बताए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेश साउँदले आफू बिरामी भएर बैठक बस्न नसक्दा ढिलाइ भएको बताए । उनले नगरपालिकाका शिक्षा शाखाका हाकिमको पनि फुर्सद नभएर छनोट परीक्षा गर्न ढिलाइ भएको बताए । ‘म किड्नीको बिरामी छु । अस्ति ५ गते बोलाएको बैठक पनि म अस्पताल भर्ना हुनुपरेपछि जान सकेन’ उनले भने ‘अब नगरपालिकाबाट समय तोकिए त्यही दिन बैठक बसेर निर्णय गर्नुपर्ला ।’

गोदावरी नगरपालिकाको शिक्षा शाखा प्रमुख प्रयाग राज जोशीले भने फागुन ५ गते समय दिइएको भए पनि व्यवस्थापन समितिको बैठक नबसेको बताए । उनले अब विद्यालयले निर्णय गरे अनुसार बैठक बसेर प्रक्रिया अघि बढ्ने बताए ।
स्थानीय दीपक विकले एसइईको मुखमा विद्यार्थीहरु शिक्षक नियुक्तिमा ढिलाई गरेर विद्यार्थीहरुको भविष्य अन्योलमा पार्ने काम भएको बताए । उनले विगतमा विद्यालयले एसइईलाई लक्षित गरेर अतिरिक्त कक्षा सञ्चालन गर्दै आएकोमा यस वर्ष नियमित पढाई पनि नगरी विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको बताए ।