अत्तरिया – सुदूरपश्चिममा मासुजन्य उत्पादन ह्वातै बढेको छ । आर्थिक वर्ष २०८०/०८१ मा प्रदेशमा ९.३२ प्रतिशतले मासुजन्य उत्पादन बढेको हो । नेपाल राष्ट्र बैंक धनगढीले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रदेशमा अघिल्लो वर्ष २.७६ प्रतिशत मासुजन्य उत्पादन बढेकोमा समीक्षा अवधि आव २०८०/०८१ मा ९.३२ प्रतिशतले बढेको छ । राष्ट्र बैंकको प्रतिवेदन अनुसार मासुजन्य उत्पादनमा कुखुरा तथा हाँसको उत्पादन ७.१० प्रतिशत, खसी बोका भेडाको उत्पादन १४.९० प्रतिशत, सुगर, बंगुरको मासु ४.९२ प्रतिशत र भैँसी राँगोको मासु ३.८८ प्रतिशतले बढेको छ । प्रदेशमा अण्डाको उत्पादन पनि ६.४४ प्रतिशतले बढको छ ।
समीक्षा वर्षमा मुख्यमन्त्री बाख्रा पालन कार्यक्रम तथा अन्य बाख्रा पवद्धन कार्यक्रम सञ्चालनमा रहेकाले मासुजन्य उत्पादन बढेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा व्यावसायिक कुखुरा पालन कार्यक्रम तथा व्यवसायमा युवाहरूको आकर्षण, प्रदेश तथा स्थानीय तहबाट माछा पालनको लागि अनुदान कार्यक्रम सञ्चालन रहेकोले पशुपन्छीको उत्पादनमा बढेको उल्लेख छ ।

प्रदेशमा समीक्षा वर्षमा ४८ हजार ४०० मेट्रिक टन मासु उत्पादन हुँदा करिब आधा हिस्सा कैलालीले ओगटेको छ । प्रतिवेदन अनुसार कैलालीमा २२ हजार ८५३ मेट्रिक टन मासु उत्पादन भएको छ । जुन कुल उत्पादनको ४७.१२ प्रतिशत हो । त्यस्तै कञ्चनपुरमा ७ हजार ८४६ मेट्रिक टन, डोटीमा ३ हजार २१० मेट्रिक टन, बैतडीमा ३ हजार ३८ मेट्रिक टन, बझाङमा २ हजार ९४२ मेट्रिक टन, अछाममा २ हजार ४७० मेट्रिक टन, दार्चुलामा २ हजार ३३६ मेट्रिक टन, डडेल्धुरामा २ हजार १३० मेट्रिक टन र बाजुरामा १ हजार ६७० मेट्रिक टन मासु उत्पादन भएको छ ।

प्रदेशमा अण्डा उत्पादनमा पनि कैलालीले आधा हिस्सा ओगटेको छ । प्रदेशमा ७ करोड, ८६ लाख ५५ हजार अण्डा उत्पादन हुँदा कैलालीमा मात्रै ४ करोड २७ लाख ९६ हजार अर्थात् ५४.४१ प्रतिशत अण्डा उत्पादन भएका छन् । कैलाली पछि कञ्चनपुरमा २६.५० प्रतिशत अण्डा उत्पादन हुँदा अन्य ७ जिल्लामा १९.०९ प्रतिशत मात्रै अण्डा उत्पादन भएका छन् ।
यस्तै प्रदेशमा दूधको उत्पादन पनि बढेको छ । समीक्षा अवधिमा ४.५८ प्रतिशतले दूधको उत्पादन बढेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । गत वर्ष सोही अवधिमा दूधको उत्पादन ३.२८ प्रतिशतले मात्रै बढेको थियो । प्रदेशमा समीक्षा अवधिमा २६ करोड ७५ लाख ७४ हजार लिटर दूध उत्पादन भएको छ । जसमध्ये कैलालीमा मात्रै ९ करोड ८५ लाख ४६ हजार लिटर (३६.८३ प्रतिशत) दूध उत्पादन भएको छ ।

त्यस्तै कञ्चनपुरमा ७ करोड ५२ लाख ८५ हजार लिटर (२८.१४ प्रतिशत), डोटीमा १ करोड ८५ लाख ९२ हजार लिटर (६.९५ प्रतिशत), बैतडीमा १ करोड ७५ लाख १७ हजार लिटर (६.५५ प्रतिशत), दार्चुलामा १ करोड ७४ लाख ११ हजार लिटर (६.५१ प्रतिशत), डडेल्धुरामा १ करोड ५७ लाख ४५ हजार लिटर (५.८८ प्रतिशत) उत्पादन भएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । यस्तै अछाममा १ करोड ११ लाख २७ हजार लिटर (४.१६ प्रतिशत), बाजुरामा १ करोड ७ लाख ७५ हजार (४.०३ प्रतिशत) र बझाङमा २५ लाख ७५ हजार लिटर (०.९६ प्रतिशत) दूध उत्पादन भएको छ ।
सुदूरपश्चिममा मासु र दूधको उत्पादन बढ्दै गएको भए पनि अझै प्रशोधन उद्योग भने सञ्चालनमा आउन सकेको छैन । प्रदेश सरकारले यस वर्ष दूध प्रशोधन तथा बधशालाका लागि चालु आर्थिक वर्षमा १२ करोड विनियोजन गरेको भए पनि अझै कार्यान्वयनमा आउन सकेको छैन ।
