अत्तरिया– बैतडीको शिवनाथ गाउँपालिका– ३ का धनवीर साउँद पेसाले शिक्षक हुन । स्थानीय गर्भेश्वर आधारभूत विद्यालय पोखरेठीमा राहतमा उनले अध्यापन गराउँछन् । पेसाले शिक्षक उनी फुर्सदको समयमा कृषि कर्म गर्छन् । उनले फर्म खोलेर टमाटर खेती गर्दै आइरहेका छन् । २०७६ सालदेखि रवीन्द्र बहुउद्देश्यीय फर्ममा उनले टमाटर खेती गर्दै आइरहेका छन् ।
हालसम्म सो खेती गर्दै आइरहेका उनले आम्दानी भने गर्न सकेका छैनन् । टमाटर खेतीको बजार देखेर फर्म सुरु गरेका उनले अहिले टमाटरकै लागि बजार पाइरहेका छैनन् । ‘टमाटर बढी बिक्री हुन्छ भनेर यो खेती सुरु गरेको हु’ उनले भने ‘सुरु सुरुमा त अलिअलि गइरहेको पनि थियो, तर पछिल्लो १/२ वर्षदेखि त उत्पादन नै खेर गइरहेको अवस्था छ ।’ उनले तराईबाट आउने टमाटरले बजार भरिदा आफूहरूलाई उत्पादन भएको तरकारी पनि कटाउन समस्या भएको बताए । ‘मेहनत धेरै हुन्छ, लगानी पनि त्यस्तै’ उनले भने ‘बजारमा तराईबाट आउने टमाटरले मूल्य सस्तो बनाइदिन्छ, त्यै पनि हाम्रो टमाटर बिक्री हुँदैन ।’ उनले यातायातको समस्याका कारण पनि उत्पादन भएको टमाटर बारीमै कुहिने अवस्थामा पुगेको बताए । उनका अनुसार अहिले उनको १० वटा टनेलमा करिब ३० देखी ४० क्विन्टलको हाराहारीमा टमाटर उत्पादन भएको छ । बिक्रीयोग्य अवस्थाको उक्त टमाटर बजार नहुँदा बिक्री गर्न नसकिएको उनी बताउँछ ।
आफ्नो फर्ममा मनीषा जातको टमाटर उत्पादन गरिरहेका साउँदले बजार अभावका कारण उक्त टमाटर वारिमै कुहिने अवस्थामा पुगेकाले आफू समस्यामा परेको पनि सुनाए ।


‘प्लास्टिक टनेलभित्र उत्पादन गरिएको टमाटर बिक्री नहुँदा करिब ३० देखी ४० क्विन्टल टमाटर बारीमै थन्किएको छ’ साउँदले दुखी हुँदै भने ‘बजारको अभावले उत्पादनको मेहनत खेर जाने अवस्था आइरहेको छ ।’ आफूले अर्ग्यानिक टमाटर उत्पादन गरेको भए पनि व्यापारीहरूले तराईबाट आउने टमाटरलाई नै महत्त्व दिएको उनको आरोप छ । उनले आफूले फर्ममा आएर व्यापारीहरूले लगे २० रुपैयाँमा प्रतिकिलो सम्ममा टमाटर बेच्ने समेत बताए । ‘यता यातायातको समस्या छ, बजारसम्म उत्पादित टमाटर पु¥याउँदा महँगो पर्न जान्छ’ उनले भने ‘तर फर्ममै आएर लैजाने व्यवसायीलाई मैले २० रुपैयाँ प्रतिकिलो सम्म दिन्छु ।’ उनले बारीमै खेर जानुभन्दा २० रुपैयाँमै भए पनि बिक्री भए केही राहत हुने अपेक्षाले बेच्ने योजना बनाएको बताए । ‘त्यसो त ५० रुपैयाँ भन्दा कममा बेचे हामीलाई घाटा हुन्छ’ उनले भने ‘तर बारीमै कुहिनुभन्दा केही भए पनि लगानी उठ्छ की भनेर मूल्य घटाएर बेच्ने योजना बनाएको छु ।’
उक्त टमाटर खेती गर्नका लागि गाउँपालिकाले उनलाई अनुदान पनि दिएको छ । गाउँपालिकाले बिउ, पोलिहाउस, सिचाई ट्याक लगायतका संरचनाहरू टमाटर खेती गर्ने कृषकलाई ८० प्रतिशत अनुदानमा दिएको छ । गाउँपालिकाका अध्यक्ष कर्ण सिंह साउँदले कृषकहरूलाई टमाटर उत्पादनमा उत्प्रेरित गर्न गाउँपालिकाले अनुदान दिएको भए पनि अहिले बजारको अभाव भएको बताए । उनले गाउँपालिकामा करिब २५/३० जना कृषकको टमाटर बारीमै कुहिने अवस्थामा पुगेको बताए । ‘हामीले कृषकहरूलाई टमाटर खेतीमा उत्प्रेरित गर्न अनुदान दिने तथा विभिन्न सामग्रीहरू उपलब्ध गराउने काम गरेका छौ’ उनले भने ‘हामीले दिएको अनुदान अनुसार कृषकहरूले राम्रो उत्पादन गर्नुभएको पनि छ, तर भारतबाट आउने टमाटरले गर्दा यहाँको टमाटरले बजार पाइरहेको छैन ।’
उनले गाउँपालिकाबाट कैलाली र डडेल्धुरातिर पठाउने योजना बनाएको भए पनि सफल हुन नसकेको बताए । उनले कृषकहरूका उत्पादनलाई बजार दिनका लागि गाउँपालिकाबाट नयाँ योजना अघि सारेको समेत बताए । उनका अनुसार गाउँपालिकाले उत्पादित टमाटरलाई बजार दिनका लागि सस बनाउने तालीमको आयोजना गर्ने भएको छ । जसका कारण कृषकहरूका टमाटरले पनि बजार पाउने र अन्य व्यक्तिहरूले पनि रोजगार पाउने गाउँपालिकाले योजना बनाएको अध्यक्ष साउँदले बताए ।

‘हामीले कृषकहरूका टमाटरको व्यवस्थापन गर्नका लागि केही दिनभित्रै सस बनाउने तालीम आयोजना गर्न गइरहेका छौ’ उनले भने ‘उक्त तालिम कृषकहरूलाई नै दिने र उत्पादित टमाटरबाट सस बनाएर बजारमा बिक्री गर्ने लक्ष्य हाम्रो छ ।’ उत्पादन राम्रो भए पनि बजार अभावका कारण आउने समस्यालाई तालिमले धेरै हदसम्म रोक्ने विश्वास लिएको अध्यक्ष साउँदले बताए । उनले तालिमले गाउँपालिकाभित्र रोजगारी पनि सृजना गर्ने उनको भनाई छ ।