अत्तरिया – अहिले कक्षा १२ पढेर विदेश जाने लहर चलेको छ । नेपालमा अवसर नै नभएको भन्दै कोही पढ्न त कोही काम गर्न विदेश जाने गरेका छन् । नेपालमा पढ्दै कमाउन नसकिने भन्दै युवाहरू स्टुडेन्ट भिसामा पनि विदेश जाने गरेका छन् । तर, कैलालीको गोदावरी नगरपालिका – १ अत्तरिया, विजयनगरका नीरज भट्ट भने स्नातकोत्तरको तयारी गर्दै महिनामा १ लाखभन्दा माथि कमाइरहेका छन्, त्यो पनि विदेशको काम नेपालबाटै गरेर।

२२ वर्षीय नीरज विगत १४ महिना देखि सिङ्गापुरको एक कम्पनीमा नेपालबाटै डिजिटल मार्केटिङको काम गरिरहेका छन् । आइटी सफ्टवारिका कलेज काठमाण्डौबाट स्नातक गरेर हाल स्नातकोत्तरको तयारी गरिरहेका उनी हाल काठमाण्डौंमा कोठा भाडामा लिएर बस्दै आएका छन् । उनले आफ्नो कोठाबाटै सिंगापुरको एजेन्सीमा इमेल ग्राफिक्स डिजाइन गरेर मासिक ८० हजार नेपाली पाउँछन् । फ्रिलान्सिङमा ग्राफिक्स डिजाइन गरेर थप २० देखि ३० हजार आम्दानी हुने गरेको उनले बताए । ‘अहिले मैले १ सयभन्दा बढी क्लाइन्टको काम गरिसकेको छु।’ उनले भने ‘नेपालमै बसेर पनि आइटी (सूचना प्रविधि) क्षेत्रमा काम गर्न सक्ने हो भने राम्रो भविष्य छ ।’

उनले आफू आइटी क्षेत्रमै पढेको भएकाले साथीहरू मार्फत कम्पनीको बारेमा जानकारी दिएर काम सुरु गरेको बताए । ‘मेरो दाइहरू पहिले देखि आइटी क्षेत्रमा हुनुहुन्थ्यो । वहाहरुले राम्रो गरिरहनु भएको थियो’ उनले भने ‘स्कुलमै पढ्दादेखि नै मेरो पनि आइटी क्षेत्रमा रुचि थियो । त्यसपछि अध्ययन गरेर अहिले काम गरिरहेको छु ।’

अत्तरियाको होलिल्यान्डबाट एसइई गरेर धनगढीको नाष्टबाट प्लस टु गरेका उनले आइटीमा करियर बनाउने योजना बनाएर काठमाण्डौं गएको बताए । ‘आइटी क्षेत्रमा पढ्दापढ्दै साथीहरूबाट विदेशका कम्पनीहरूमा पनि नेपालबाटै काम गर्न सकिन्छ भन्ने जानकारी पाए’ उनले भने ‘स्नातकको पढाइ सकिँदै थियो । मैले पनि अनलाइनबाट विदेशमा काम खोज्न थाले । त्यसपछि अनलाइनबाटै इन्टरभ्यु दिएर काम पनि देखाएपछि म छनोट भए ।’
उनले नेपालमै बसेर विदेशमा जस्तै पैसा कमाउन सकिने क्षेत्र आइटी भएको बताए । पछिल्लो समय आइटीमा युवाहरूको चासो बढ्दै गएको भए पनि सुदूरपश्चिममा भने अझै त्यति विकास हुन नसकेको उनको भनाइ छ । उनले आइटीमा नेपालका जुनसुकै क्षेत्रमा बसेर पनि काम गर्न सकिने भएकाले भविष्यमा अत्तरियामै आएर काम गर्ने योजना रहेको बताए । ‘स्थानीय स्तरमा तालिम दिएर आफूजस्तै युवाहरुलाई आइटी क्षेत्रमा काम गर्न सक्ने बनाउने र पढ्दै गरेका विद्यार्थीलाई स्किल्स सिकाएर पार्टटाइम काम गरेरै अमेरिकी डलर कमाउन सक्ने बनाउने योजना छ।’ उनले भने ‘मेरो सीप म स्थानीय युवाहरूलाई पनि सिकाउन चाहन्छु ।’ उनले अहिले आफू पनि अध्ययनमै रहेकाले अध्ययन सकेपछि डाटा एनलाईसिसमा काम गर्ने योजना रहेको सुनाए ।
विश्वव्यापी बजार भएकाले पछिल्लो समय धेरै विद्यार्थीहरूले आइटी शिक्षा रोज्न थालेका छन् । आइटी शिक्षा पूरा हुनासाथ स्वदेश तथा विदेशमा काम पाइने भएकाले यसतर्फ विद्यार्थीको आकर्षण बढ्दो छ । नेपालमै पनि आइटीको प्रयोग हरेक क्षेत्रमा बढ्नुका साथै जनशक्तिको माग पनि उच्च रहेको छ ।
very nice