खाेज्नुहाेस

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

Image

पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुसरा बिबीलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ। फैसलामा खानलाई १४ वर्षको जेल सजाय सुनाइएको छ।

न्यायाधीश नासिर जावेद राणाले फैसलाबारे भने, ‘अभियोजन पक्षले आफ्नो मुद्दा प्रमाणित गरेको छ। खान दोषी ठहरिएका छन्।’ खानकी पत्नी बिबीलाई सात वर्षको जेल सजाय सुनाइएको छ।

attariya hospital
navjiwan hospital

भ्रष्टाचारविरोधी अदालतले खानलाई राखिएको राजधानी इस्लामावादनजिकैको जेलमा भएको सुनुवाइपछि फैसला सुनाएको हो। उनीहरूले मिलेर स्थापना गरेको अल–कादिर ट्रस्ट नामक कल्याणकारी फाउन्डेसनका नाममा भएको आर्थिक अनियमितताका कारण उनीहरूलाई दोषी ठहर गरिएको फैसलामा उल्लेख छ।

खान सन् २०२३ को अगस्टदेखि जेलमा छन् र उनीमाथि करिब २०० वटा मुद्दा लगाइएका छन्। ती मुद्दा उनलाई सत्तामा फर्कनबाट रोक्नका लागि राजनीतिक प्रतिशोधबाट प्रेरित भएको दाबी खानले गरेका छन्।

उनकी पत्नी बुसरा बिबी हालसालै जेलबाट रिहा भएकी थिइन् भने उनलाई फैसलापछि शुक्रबार अदालतबाटै पक्राउ गरिएको छ। शुक्रबार बिहान अदालतको सुनुवाइमा भाग लिन उनी खानलाई राखिएको जेलमा उपस्थित भएकी थिइन्।