अत्तरिया – साहित्यकार तथा शिक्षक कोमल बहादुर ओलीद्वारा लिखित जीवन यात्राका सम्झना नामक कृतिको सोमबार अत्तरियामा आयोजित भव्य समारोहमा लोकार्पण गरिएको छ । प्रतिभा सामुदायिक पुस्तकालय अत्तरियाद्वारा आयोजित समारोहमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा। टीएन जोशीले उक्त कृतिको लोकार्पण गरेका हुन ।
जीवन यात्राका सम्झना कृतिको लोकार्पण गर्दे उपकुलपति डा। जोशीले राष्ट्र, राष्ट्रियता र मानवीय समवेदनाप्रति गम्भीर बनेका लेखक कोमल बहादुर ओलीको कृति समाजका तमामौं विसंगतहरूलाई चित्रण गर्न सफल भएको भन्दै लेखकलाई शुभकामना दिए ।


उपकुलपति जोशीले स्रष्टाहरू समाजका अमूल्य निधी भएको चर्चा गर्दै सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान स्रष्टाहरूको हकहित र उत्थानका लागि क्रियाशील रहेको बताए । उनले समृद्ध सुदूरपश्चिमको नारालाई साकार पार्न प्रदेशको भाषा, साहित्य र संस्कृतिको विकास अपरिहार्य भएको बताए ।
समारोहमा पूर्व सांसद यज्ञराज पाठकले समाज परिवर्तनमा लेखक साहित्यकारहरूको अहम् भूमिका हुने भएकोले राज्यले उचित सम्मान दिन सक्नु पर्ने बताए । प्रजातान्त्रिक प्राध्यापक संघका केन्द्रीय उपाध्यक्ष जगन्नाथ जोशीले लेखक ओलीको संस्मरणात्मक कृति जीवनी, कविता र गीतको सँगालो भएको चर्चा गर्दे समाजको यथार्थ चित्र कृतिमा उतारिएको बताए । कृतिका लेखक कोमल बहादुर ओलीले आफ्नो जीवनका तीता मीठा अनुभवहरूलाई कृतिमा चित्रण गरेको बताए ।
प्रतिभा सामुदायिक पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीको अध्यक्षतामा सम्पन्न पुस्तक विमोचन समारोहमा दुर्गालक्ष्मी क्याम्पसका प्रमुख डा। नरेन्द्र ऐर, वडाध्यक्ष तथा नगर प्रवक्ता गोपालदत्त भट्ट, वरिष्ठ कवि निर्मल कुमार भण्डारी, लेखक कोमलका दाजु गम बहादुर ओली, डा। यज्ञराज पाठक, नरेन्द्रराज शर्मा लगायतले विमोचित कृतिमाथि शुभकामना प्रकट गरेका थिए । कार्यक्रममा सांस्कृतिक प्रस्तुति समेत राखिएको थियो ।


















