खाेज्नुहाेस

चिसापानीमा बन्ने जालपादेवी केबलकारको परराष्ट्रमन्त्री राणाले गरिन् शिलान्यास

Image

धनगढी – कैलालीको चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शनिबार शिलान्यास भएको छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले लम्की चुहाँ नगरपालिका वडा नम्बर ३ स्थित कर्णाली चिसापानीमा ३.१ किलोमिटर लामो केबलकारको शनिबार एक विशेष कार्यक्रमबीच शिलान्यास गरेकी हुन् ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री राणाले जालपादेवी केबलकारको निर्माणले समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा उल्लेख्य भूमिका खेल्ने बताइन् ।

attariya hospital
navjiwan hospital

देउवाले भनिन्, ‘सुदूरपश्चिम पर्यटन, संस्कृति, परम्परा र जैविक विविधतामा धनी छ । प्राकृतिक स्रोत एवं सम्पदाहरूले यो भूगोल जति सम्पन्न छ त्यति नै यहाँका नागरिकमा सांस्कृतिक एकता र सद्भाव पनि छ । यसकारण मुलुकको सुदूरपश्चिम क्षेत्रका समुदायहरू विकासप्रेमी पनि छन् । हाम्रो सुदूरपश्चिम प्रदेशमा बन्ने यस केबलकार, होटलसहितको भव्य पर्यटकीय पूर्वाधारले सुदूरपश्चिम र मुलुककै समृद्धिका लागि पनि धेरै ठूलो उपलब्धि हुनेछ ।’

यस आयोजनालाई समयमै सम्पन्न गर्नका लागि आवश्यक सहयोग गरी सुदूरपश्चिम क्षेत्रका नागरिकको सहयोगको भावनालाई दर्साउन सबैमा उनले अपिल गरिन् । त्यसैगरी उनले आयोजना समयमै सम्पन्न गर्न तथा आगामी दिनमा यो क्षेत्रका सम्भावना र आवश्यकता हेरेर यो क्षेत्रमा पर्यटन लगायतका पूर्वाधारहरूमा बढीभन्दा बढी लगानी गर्न पनि आग्रह गरिन् ।

लम्कीचुहा नगरपालिका वडा नम्बर ३ को चिसापानीदेखि मोहन्याल गाउँपालिका वडा नम्बर ७ राजकाँडासम्म पुग्ने ३.१ किलोमिटर लामो केबलकारमा ३४ वटा गोन्डोला हुनेछन् । कुल पाँच अर्ब रुपैयाँ लगानी हुने केबलकारको बटम स्टेसनमा केबलकार, होटल, क्यासिनो, ब्याक्वेट हल निर्माण हुनेछन् भने टप स्टेसनमा रिसोर्ट, मन्दिर, स्काई वक, वकिङ ट्रेल, रेस्टुरेन्ट तथा चिल्ड्रेन पार्कसहित अन्य पर्यटकीय तथा मनोरञ्जनात्मक पूर्वाधारहरू निर्माण हुनेछन् ।

maya metro hospital