धनगढी – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा कृष्णसारको संख्या बढेर हालसम्म २ सय ९५ पुगेको छ । सातवर्ष अघि स्थानान्तरण गरेर ल्याइएका कृष्णसारको सङ्ख्या प्रतिवर्ष बढ्दै जान थालेको छ । गत आर्थिक बर्षको तुलनामा कृष्णसारको सङ्ख्या यस वर्ष कृष्णसारको संख्या २८ ले बढेको छ । बर्षेनी ३० देखि ३५ को सख्यांमा कृष्णसार बढ्ने गरेपनि बिभिन्न रोग र आपसमा जुधेर मृत्यु हुने गरेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ ।
कञ्चनपुर जिल्लामा स्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा वासस्थान र आहारमा सुधार गरिएपछि कृष्णसारको संख्यामा प्रति वर्ष वृद्धि हुदै जान थालेको हो । सन २०१२ सालमा ४२ वटा कृष्णसार ल्याएर संरक्षित क्षेत्र कायम गरिएको थियो ।


कृष्णसारलाई पानीको व्यवस्था गर्न संरक्षण क्षेत्रमै चार पोखरी र दुई छहारी घर निर्माण गरिएका छन् । कृष्णसारलाई बाह्य आक्रमणबाट बचाउन २५ हेक्टर क्षेत्रफलमा ग्याविन बक्स र त्यसको पछाडि विद्युतीय तारबार (फेन्स वायर) जडान गरिएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत दुर्लभ स्तनधारी कृष्णसार सन् १९६० को दशकमा पश्चिमका केही जिल्लामा पाइने गरेको र बासस्थानको विनाश र चोरी शिकारले गर्दा केही समययता लोप हुने सङ्घारमा पुगेको छ ।
दुर्लभ कृष्णसारको प्रचार प्रसार सगैं समग्र सुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बिकास गर्न सके यहाँ हजारौँ बाह्य पर्यटक तान्न सकिने पर्यटन ब्यवसायीको भनाई छ । नेपालमा कृष्णसार सबैभन्दा बढी झण्डै ३०० जति बर्दिया खैरापुरमा रहेको बताइएको छ । एन्टिलोप प्रजातिको कृष्णसार हाल नेपालगञ्ज, काठमाडौँको मृगस्थली र शुक्लाफाँटाको हिरापुर फाँटामा संरक्षित छ ।

















