खाेज्नुहाेस

घोडाघोडीमा आन्तरिक पर्यटकको चहलपहल बढ्यो

Image

धनगढी – कैलालीको पर्यटकीय क्षेत्र घोडाघोडीमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । चाडपर्व समय सुरु भएसँगै घोडाघोडीमा पर्यटकको चहलपहल बढ्न थालेको हो । घोडाघोडीमा पर्यटकको चहलपहल बढे सँगै सो क्षेत्रमा फोटोग्राफरको काम गर्नेहरुको पनि आम्दानी बढेको छ ।

फोटोग्राफर लक्ष्मण सुनारले भने दसैँको दिनदेखि आम्दानी ह्वात्तै बढेको बताए । उनले दसैँ अघि सम्म दैनिक १ हजार सम्म आम्दानी हुने गरेकोमा अहिले बढेर ५ हजार सम्म पुगेको बताए । आन्तरिक पर्यटकको चहलपहल बढेसँगै घोडाघोडीका होटेल व्यवसाय पनि फस्टाएका छन् । घुम्न आउने पर्यटकले खाजा खानको व्यापार व्यवसायमा वृद्धि भएको होटेल व्यवसायी राजु अवस्थीले बताए । उनले चाडपर्वको समयमा मात्रै नभई अन्य समयमा पनि घोडाघोडीमा पर्यटक आइरने वातावरण बनाउनसके आम्दानीको स्रोत दिगो बन्न सक्ने बताए ।

attariya hospital
navjiwan hospital

विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी तालमा प्रवेशका लागि १० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । घोडाघोडी सामुदायिक वनका अध्यक्ष दीपकबहादुर शाहले दसैँदेखि पर्यटकको चहलपहल धेरै बढेको बताए ।

दसैँमा लामो समयसम्म बिदा पनि हुने र अहिलेको मौसम पनि घुम्नका लागि उपयुक्त रहेकाले यो समयमा पर्यटक घोडाघोडीमा घुम्न आउने गरेको पर्यटन व्यवसायी डबल शाहले बताए । उनकाअनुसार पहिलेभन्दा अहिले घोडाघोडी क्षेत्र व्यवस्थितहुँदै गएको छ । पर्यटकका लागि पैदलमार्ग स्थापना भएका छन् । घोड सवारसँगै ढुङ्गामा सयर गर्न पनि पाइन्छ त्यसैले पनि पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।

पूर्व–पश्चिम राजमार्गको छेउमा रहेको घोडाघोडी ताल क्षेत्र दुर्लभ चराचुरुङ्गीले विचरण गर्ने शान्त र सुरक्षित वासस्थान हो । विश्वजलचर इतिहासमा सङ्कटापन्न दर्जनौँ जातका रैथाने माछाका प्रजाति, पुतली तथा अन्य दुर्लभ चराचुरुङ्गीको संरक्षणका कारण यो ताल सन् २००३ मा विश्वरामसार सूचीमा सूचीकृत भएको थियो । एक सय ३८ हेक्टर क्षेत्रफलमा फैलिएको यो ताल औँला भएको हत्केला आकारको छ ।