धनगढी – कैलाली जनपुस्तकालय धनगढीले १७ औँ राष्ट्रिय पुस्तकालय दिवसको पूर्व सन्ध्यामा शनिवार हाजिरी जबाफ प्रतियोगिता सम्पन्न गरेको छ।कैलाली जनपुस्तकालयका अध्यक्ष तथा संस्कृतिविद् डा टीएन जोशीको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना राज्यमन्त्री प्रकाश बहादुर बम प्रमुख अतिथि थिए।
प्रतियोगितामा नवीन कुमार बम, आरती अवस्थी र अस्मिता चौधरीको समूह प्रथम,नेत्र बोगटी, मुकेश बोगटी, कुबेर बडैलाको समूह द्वितीय र सन्तोष रावल, रणबहादुर साउद, सरोज जोशीको समूह तृतीय भएको छ ।


कार्यक्रमका प्रमुख अतिथि अर्थ राज्यमन्त्री बमले पुस्तकालयले महत्त्वपूर्ण ज्ञान प्रदान गरिरहेकोमा धन्यवाद ज्ञापन गरे। राज्यमन्त्री बमले पुस्तकालयलाई सरकारले सहयोग गर्ने बताए।उनले पुस्तकालय ज्ञानको भण्डार भएको बताए ।
कैलाली जनपुस्तकालयलाई अनुसन्धानको केन्द्र बनाउने योजना रहेको अध्यक्ष डा. टीएन जोशीले बताए । सो अवसरमा कैलाली जनपुस्तकालयका पूर्व उपाध्यक्ष तथा अर्थ राज्यमन्त्री बमलाई पुस्तकालयका तर्फबाट अध्यक्ष डा. जोशीले दोसल्ला ओढाइ सम्मान पत्र प्रदान गरे। कार्यक्रम संयोजक सुभाष भण्डारीले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन सचिव टंक जोशीले गरेका थिए।
सामान्य ज्ञान चरण, तस्बिर चरण, श्रव्य दृश्य चरण, र्यापिड फायर चरण, गाउँ खाने कथा चरण, आइक्यु चरण गरी छ वटा चरणमा सञ्चालन भएको प्रतियोगिता साहित्यकार हर्क बोहराले प्रविधियुक्त बनाएका थिए। विजेता प्रतियोगीलाई सत्रौँ पुस्तकालय दिवसको अवसरमा पुरस्कृत गरिने कार्यक्रमका संयोजक सुभाष सङ्कल्प भण्डारीले बताए।

















