अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ८ स्याउलेमा यस वर्ष पनि गौरा पर्व मेला आयोजना गर्न लागिएको छ । गौरा पर्वको अवसरमा यही भदौ १० गतेदेखी १६ गतेसम्म मेलाको आयोजना गर्न लागिएको हो ।
बिहिबार आयोजक गौरा मेला समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै मेलाको बारेमा जानकारी दिएको छ । मेला सञ्चालन समितिका संयोजक गोपाल देउवाले यहाँको रिति रिवाज, संस्कृति र संस्कारको जर्गेना गर्ने हेतुले मेलाको आयोजना गर्न लागिएको बताए ।


उनले मेलामा स्थानिय देउडा कलाकारहरुका साथै सुदूरपश्चिमका विभिन्न जिल्लाका कलाकारहरुको सहभागिता रहने बताए । ‘मेलामा २ दिनसम्म हामीले यहाँको संस्कृति जर्गेना गर्ने किसिमले स्थानिय कलाकारहरुलाई प्राथमिकता दिनेछौ’ उनले भने ‘त्यसपश्चात बाँकी दिनहरुमा प्रदेशभरीका कलाकारहरुको प्रस्तुती रहनेछ ।’
उनले विगतका भन्दा फरक तरिकाले यो वर्ष गौरा पर्व मेला आयोजना गरिने बताए । उनले यस वर्ष स्थानिय महिलाहरुको समुहलाई देउडाको प्रस्तुतीका लागि तयारी थालिएको बताए । उनले मेला आयोजना गर्नका लागि मोटामोटी रुपमा २ देखी ढाई लाख लगानी लाग्ने देखिएको बताए । उनले उक्त रकम समितिले चन्दा उठाएर संकलन गर्ने योजना बनाएको बताए ।
उनले मेलाले सुदूरपश्चिमको कला, संस्कृतिको जर्गेना गर्न तथा यहाँको कला संस्कृतिको पहिचान गर्नमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने आफुहरुले विश्वास लिएको बताए । उनका अनुसार मेलामा स्थानिय बाहेक प्रदेशभरीका करिब १५ जना जती कलाकारहरुको सहभागिता रहनेछ । मेलामा यस वर्ष स्थानिय विद्यालयका विद्यार्थीहरुलाई पनि सहभागिता गराईने बताईएको छ ।
यहाँको संस्कार, संस्कृति र परम्पराको पहिचान हुने किसिमका कार्यक्रमहरु देखाए विद्यार्थीहरुले पनि सो कुरा सिक्ने अवसर पाउने उनको भनाई छ । गौरा पर्व मेला सदाझै स्याउलेमै रहेको विश्वनाथ महादेव मन्दिरमा आयोजना गरिने आयोजकले जनाएको छ ।

















