अत्तरिया – आइतबार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका कमल बहादुर शाहले शपथ ग्रहण सँगै मन्त्रिमण्डल विस्तार गरेका छन् । सोमबार शाहले ६ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिमण्डल विस्तार गरेका हुन । मन्त्री बन्नेमा नेपाली कांग्रेसका २, नेकपा एमालेका ३ र नागरिक उन्मुक्तिका १ सांसद रहेका छन् । यस्तै कांग्रेसबाट २, एमालेबाट १ राज्यमन्त्री बनेका छन् ।
कांग्रेसबाट कैलाली क्षेत्र नम्बर – २ (१) बाट निर्वाचित मुख्यमन्त्री शाह २०२८ साल माघ १० गते अछामको रामारोशन स्थित टरीगैरामा जन्मेका थिए । टीकापुरको वीरेन्द्र विद्या मन्दिरबाट स्कुले शिक्षा पढेका शाहले व्यवस्थापन विषयमा स्नातक गरेका छन् ।
काग्रेंसबाट आर्थिक मामिला मन्त्री बनेका बहादुर सिंह थापाको जन्मस्थान दशरथ चन्द नगरपालिका – ८ बैतडी हो । उनी हाल भीमदत्त नगरपालिका –६ कञ्चनपुरमा बस्दै आएका छन् । सुदूरपश्चिम प्रदेशसभा सचिवालयको विवरण अनुसार उनले व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् ।
सामाजिक विकास मन्त्री मेघराज खड्का अछामको चौरपाटी –५ लुंग्रा निवासी हुन । उनले राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका छन् ।
यस्तै एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री बनेका सुरेन्द्र पाल बैतडीको डिलासैनी गाउँपालिका – ३ मंरौडा निवासी हुन । सुदूरपश्चिम प्रदेशसभा सचिवालयले उपलब्ध गराएको विवरण अनुसार उनले कक्षा १२ (प्लसटू) सम्मको अध्ययन गरेका छन् ।
भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेका वीर बहादुर थापाको पुर्ख्यौली घर बझाङ भए पनि उनी हाल कञ्चनपुरको पुनर्वास नगरपालिका – २ मोती बस्तीमा बस्दै आएका छन् । उनको शैक्षिक योग्यता पनि कक्षा १२ (आइए) सम्म रहेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका हिरा सार्की कञ्चनपुरको भीमदत्त नगरपालिका – ४ कञ्चनपुर निवासी हुन । उनको शैक्षिक योग्यका १० कक्षा (एसएलसी) सम्म रहेको छ ।
नागरिक उन्मुक्ति पार्टीबाट उद्योग पर्यटन बन तथा वातावरण मन्त्री बनेका लक्ष्मण किशोर चौधरी टीकापुर नगरपालिका – ५ निवासी हुन । उनको शैक्षिक योग्यका कक्षा १२ (आइए) सम्म रहेको छ ।
आर्थिक मामिला राज्यमन्त्री बनेका प्रकाश बम कैलालीको गौरीगंगा नगरपालिका –२ निवासी हुन । उनले कानुनमा स्नातक तह सम्मको अध्ययन गरेका छन् । सामाजिक विकास राज्यमन्त्री बनेकी सरस्वती खड्का गन्यापधुरा गाउँपालिका –५ डडेल्धुरा निवासी हुन । उनले मानविकिय सङ्कायमा स्नातकोत्तर (एमए) गरेकी छिन ।
यस्तै भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेकी निर्मला साउँद पूर्विचौकी गाउँपालिका – ७ डोटी हो । सुदूरपश्चिम प्रदेशसभा सचिवालयको विवरणमा उनको शैक्षिक योग्यता साक्षर उल्लेख छ ।