अत्तरिया – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीको आयु साउन १८ गते सकिने निश्चित छ । अल्पमतकै एक महिने सरकार चलाइरहेका सोडारीले एक महिना भित्र विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था छ । उनले एक महिना पुरै कटाएर विश्वासको मत लिन लागेका भए पनि विश्वासको मत पाउने सम्भावना भने छैन । केन्द्रमा फेरिएको सत्ता समीकरण अनुसार नै प्रदेशमा नयाँ सरकार बनाउने तयारी यसअघि नै भइसकेकाले नयाँ मुख्यमन्त्री कांग्रेसबाट बन्ने करिब करिब निश्चित जस्तै छ । केन्द्रमा असार १७ गते नेपाली कांगेस र एमाले मिलेर बनेको नयाँ सत्ता समीकरण अनुसार सरकार बन्दा सुदूरपश्चिममा कांग्रेसले मुख्यमन्त्री पाउने सहमति भएको भनिएको छ ।

सहमति अनुसार नयाँ सत्ता समीकरण अनुसार अहिलेसम्म लुम्बिनी र बागमती सरकार बनेको छ भने जनमत पार्टी नेतृत्वमा रहेको मधेस सरकारलाई पनि कांग्रेस र एमालेले साथ दिएका छन् । कर्णाली र कोसीमा एमाले नेतृत्वमा रहेका सरकारमा कांग्रेस सहभागी हुन बाँकी छ भने कांग्रेस नेतृत्वमा रहेको गण्डकी सरकारमा एमाले सहभागी हुन बाँकी छ । संघमा कांग्रेस र एमाले बिच समीकरण बनेसँगै मधेसबाहेक सबै प्रदेशमा उनीहरूले आलोपालो नेतृत्व गर्ने सहमति गरेका छन् ।

जसअनुसार सुदूरपश्चिममा हाल कांगेसले मुख्यमन्त्री पाउने निश्चित भए पनि कांग्रेसबाट को मुख्यमन्त्री बन्ने भन्ने बारेमा भने अझै पार्टीभित्र रस्साकस्सी चलिरहेको छ । एक महिना अघि कांगेसबाट पुर्वमुख्यमन्त्री समेत रहेका कमलबहादुर शाह नै दोहरीले सङ्केत देखिएको थियो । कांग्रेस सुदूरपश्चिम संसदीय दल नेता समेत रहेका शाह सँगै पछिल्लो समय अन्य आंकाक्षी पनि मैदानमा उत्रिएपछि अहिले कसलाई मुख्यमन्त्री बनाउने भन्ने निर्णयमा कांग्रेस पुग्न सकेको छैन ।
हाल डेढ वर्षको अवधिमा बन्ने चौथो मुख्यमन्त्रीका लागि कांग्रेस भित्र चार जना आकांक्षी देखिएका छन् । पूर्व मुख्यमन्त्री शाह सहित पूर्वभौतिक पूर्वाधार मन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाका भतिजो प्रकाश देउवा, बहादुर सिंह थापा र दिवानसिंह विष्ट मुख्यमन्त्रीका आकांक्षी छन् ।

मुख्यमन्त्री भइसकेका र, पार्टीको संसदीय दलको नेता रहेका शाह पुनः मुख्यमन्त्री हुने दौडमा हुँदा तत्कालीन समयमै काग्रेंस संसदीय दलको नेता बन्न चाहेका थापाले पनि सक्रियता बढाएका छन् । तत्कालीन समयमा केन्द्रको निर्देशन अनुसार पछाडि हटेका थापा अहिले मुख्यमन्त्रीको प्रबल दाबेदार बनेका छन् । तत्कालीन समयमा प्रकाशमान सिंह समूहमा रहेका शाहले काग्रेंस कैलालीको १४ औँ अधिवेशनमा नारायण भट्टलाई सघाएकै कारण थापालाई उछिन्दै दलको नेता बन्ने अवसर पाएका थिए ।
बैतडी पुर्ख्यौली घर भएका थापा काग्रेंसका पुराना नेता हुन । काग्रेंस कञ्चनपुरको सभापति भइसकेका थापा यस पटक जसरी पनि मुख्यमन्त्री बन्ने दाउमा छन् । देउवा गुटकै नेता एनपी साउद समूहका मानिने थापाको यस पटक मुख्यमन्त्रीको बलियो सम्भावना रहेको तर्क समेत गरिएको छ । सुदूरपश्चिमको कांग्रेसलाई लिड गर्ने एनपी साउँद र रमेश लेखकले प्रदेशमा दुई गुट चलाएका छन् ।
लेखक गृहमन्त्री बन्दा एनपीको भागमा सुदूरपश्चिमको मुख्यमन्त्री पर्ने सम्भावना हुँदा थापाको पल्ला भारी हुने अनुमान गरिएको छ । यसका साथै काग्रेंस सभापति शेर बहादुर देउवाका भतिजा प्रकाश देउवा पनि मुख्यमन्त्री बन्ने लाइनमा छन् । निवर्तमान मुख्यमन्त्री कमल बहादुर शाहले सघाए देउवा मुख्यमन्त्री बन्ने तयारीमा छन् । उनले सभापति देउवा पत्नी आरजुको स्वकीय सचिव बनेर लामो समय काम गरेका छन् ।
उनका साथै कञ्चनपुर–१ (२) बाट प्रदेश सभामा निर्वाचित भएका दिवानसिंह विष्ट पनि मुख्यमन्त्रीका लागि केन्द्रमा लबिङ गरिरहेका छन् । शेखर कोइराला समूहका विष्ट मुख्यमन्त्रीका लागि शेखरलाई लबिङ गर्न दबाब बढाइरहेको नेताहरूबिच चर्चा छ । संविधानको धारा १६८ को २ अनुसार सरकार गठन गर्न संसदीय दल नेता नभए पनि हुने प्रावधान छ । जसका कारण संसदीय दलको नेता नभएका सांसदले पनि मुख्यमन्त्रीमा दाबी पेस गर्न सक्ने छन् ।
यसैबिच मुख्यमन्त्री दिर्घराज सोडारीले साउन १८ गते (शुक्रवार) विश्वासको मत लिने तयारी गरेका छन् । सत्तासीन दल नेकपा एमाले गत असार २० गते सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने भएका हुन् । विश्वासको मतको प्रायोजनको लागि उनले सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाएका छन् । प्रदेशसभा सचिवालयले शुक्रवार ४ बजे मुख्यमन्त्रीको विश्वासको मतका लागि प्रदेशसभा सदस्यहरूलाई सूचना पनि सम्प्रेषण गरिसकेको छ ।
सभामुख भण्डारीले विश्वासको मतको लागि आह्वान हुने बैठकबारे प्रदेशसभा सदस्यहरूलाई सूचना पनि जारी गरिसकेको जानकारी दिए । सोडारीले एक महिना अल्पमतकै अवस्थामा सरकार लम्ब्याउँदा प्रदेशको नयाँ बजेट भने आउन सकेको छैन । जसका कारण साउन १ गते देखि प्रदेशमा आर्थिक गतिविधि ठप्प रहेका छन् ।