धनगढी – अध्यादेशबाट बजेट ल्याउने सुदूरपश्चिम प्रदेश सरकारको योजनामा बे्रक लागेको छ । प्रदेशसभा सचिवालयले मंगलबार २ बजेको लागि प्रदेशसभा बैठक आह्वान गरेपछि सरकारले अध्यादेशबाट बजेट ल्याउने योजनामा बे्रक लागेको हो । असार १ गते आएको बजेट असार मसान्तसम्म पनि पारित नभएपछि सरकारले अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेको थियो । जसका लागि प्रदेश सरकारले प्रदेश सभाको बैठक अन्य गर्न प्रदेश प्रमुख नजिर मियाँलाई सिफारिस गरेको थियो ।
सरकारको सिफारिसमा बिहीबार राति १२ बजेदेखि लागू हुने गरि प्रदेश प्रमुख मियाँले संसद् अन्त्य गरेपनि शुक्रबार २१ जना सांसदले विपद्को बेला सरकारले राहत क्षतिपूर्ति र पुनस्थापनाको काम नगरेर संसद् अन्त्य गरेको भन्दै अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख मियाँलाई लिखित निवेदन दिएपछि प्रदेश प्रमुखले पुनः विशेष अधिवेश आह्वान गरेका थिए ।


२० गते एमालेले समर्थन फिर्ता लिएर तीन मन्त्रीले राजीनामा दिएपछि प्रदेश सरकार अल्पमतमा परेको थियो । अल्पमतको सरकारले बजेट ल्याउँदा पारित नहुने भएपछि मुख्यमन्त्री सोडारीले ३० गतेसम्म कुनै तयारी गरेनन् । त्यसलगत्तै सरकार बेखर्ची भएपछि अध्यादेशमार्फत बजेट ल्याउन प्रदेश सभाको बैठक अन्य गर्न प्रदेश प्रमुख नजिर मियाँलाई सरकारले सिफारिस गरेको थियो ।
सरकारको सिफारिसमा बिहीबार राति १२ बजेदेखि लागू हुने गरि प्रदेश प्रमुख मियाँले संसद् अन्त्य गरेका थिए । त्यसपछि सरकारले अध्यादेशको तयारी गरेको थियो । तर, शुक्रबार २१ जना सांसदले विपद्को बेला सरकारले राहत क्षतिपूर्ति र पुनर्स्थापनाको काम नगरेर संसद् अन्त्य गरेको भन्दै अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख मियाँलाई लिखित निवेदन दिए ।
नेपालको संविधानको धारा १८३ को उपदफा ३ मा ‘प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशन चालू नरहेको वा बैठक स्थगित भएको अवस्थामा अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी प्रदेश सभाको सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाइ सदस्यहरूले लिखित अनुरोध गरेमा त्यस्तो अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्ने छ भन्ने उल्लेख छ ।
उक्त व्यवस्था अनुसार संसद् अन्त्य भएकै भोलिपल्ट प्रदेश प्रमुख मियाँले अधिवेशन आह्वान गरेका हुन् । सोही पत्रका आधारमा मंगलबार दिउसो २ बजे अधिवेशन आह्वान गरेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।


















