अत्तरिया – नेकपा एमाले गोदावरी नगर कमिटी उपाध्यक्ष कृत बहादुर चन्दको निधनप्रति एमाले गोदावरी नगर कमिटीले दुःख व्यक्त गरेको छ । शनिवार एमाले गोदावरी नगर कमिटी अध्यक्ष सन्तोष सिंहद्धारा जारी शोक व्यक्तव्यमा चन्दको निधन प्रति दुःख व्यक्त गरिएको हो ।


शोक व्यक्तव्यमा पार्टी निर्माणमा ठुलो भूमिका खेलेका चन्दको निधनले पार्टीमा ठुलो क्षति भएको उल्लेख छ । ‘भद्रशालीन, मिलनसार छवि बनाउनु भएका कमरेड चन्द कुशल संगठकका रूपमा नेपाल प्रहरीबाट निवृत्त पश्चात् लामो समयदेखि यस क्षेत्रको पार्टी निर्माणमा ठुलो भूमिका निर्वाह गर्नुभएको थियो’ शोक व्यक्तव्यमा भनिएको छ ‘२०७४ सालको स्थानीय तह गोदावरी नगरपालिकाको वडा नम्बर १ बाट निर्वाचित वडा सदस्य समेत रहनु भएका चन्दको निधनबाट पार्टीले एक असल, निष्ठवान, निडर, साहसी, क्षमतावान नेता गुमाउन पुगेको छ भने गोदावरी बासीले एक असल समाजसेवी गुमाउन पुगेका छन् ।’

शोक व्यक्तव्यमा दुःखद घडीमा चन्द प्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ ।

गोदावरी नगरपालिका–१ भरतपुर निवासी ५४ वर्षीय चन्दको शुक्रवार निधन भएको हो । उनी आफू सुत्ने कोठामा पंखामा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । घटनाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।