धनगढी – सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले प्रदेश प्रमुख नजिर मियाँले बजेट ल्याउन असहयोग गरेको आरोप लगाएको छ । जलस्रोत तथा सिचाई मन्त्री अक्कलबहादुर रावलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशन अन्त्य गर्ने गरिएको सिफारिसलाई अघि नबढाएर असहयोग गरेको आरोप लगाएका हुन ।
उनले प्रदेश प्रमुख गैर जिम्मेवार देखिएको बताए । ‘राजनीतिक समीकरण फेरिएपछि सुदूरपश्चिममा एकखालको संकट सिर्जना भएको छ । अगामी वर्षका लागि ल्याएको बजेट पारित हुन नसक्ने अवस्था भएकाले अध्यायदेश वा पूरक बजेट ल्याउने सरकारको सोच रहेको छ,’ रावलले भने, ‘तर प्रदेश प्रमुख ज्यूले सरकारको सिफारिसअनुसार प्रदेश सभा अधिवेशन अन्त्य गरिदिनुभएको छैन । उहाँ अली गैर जिम्मेवार देखिनुभयो । पत्र पाउने बितिकै प्रदेश सभालाई नपठाएर काठमाडौँ हिडिदिनुभयो ।’


रावलले विश्वासको मत परीक्षण नभइकन सरकार अल्पमतमा परिसकेको भन्न नपाइने दाबी गरे । एमालेसहितको तत्कालीन गठबन्धन सरकारले ल्याएको बजेट पारित नगरेर एमालेले प्रदेशलाई अनिर्णयतको बन्द बनाउन खोजेको आरोप उनको थियो ।
प्रदेश सरकारले प्रदेश सभाको जारी अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । प्रदेश सभा अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउन खोजेको थियो । तर, प्रदेश प्रमुखले बजेट अधिवेशन अन्त्य नगरिदिएपछि सरकार अलमलमा परेको छ ।
राजनीतिक समीकरण फेरिएसँगै नेकपा एमाले सरकारबाट बाहिरिएपछि अगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ल्याएको बजेट प्रदेश सभाबाट पास हुन सकेको छैन ।
त्यसका लागि मन्त्रिपरिषद्बाट प्रदेश सभाको अधिवेशन अन्त्य गर्ने निर्णय गराएर सोडारीले प्रदेश प्रमुख मियाँलाई पत्राचार गरेका छन् तर प्रदेश प्रमुख नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण समारोहमा सहभागी हुन काठमाडौँ हिडेपछि अधिवेशन अन्त्य गर्ने सरकारको सिफारिससहितको पत्र प्रदेश प्रमुखको कार्यालयमा थन्किएको छ ।
















