खाेज्नुहाेस

सुदूरपश्चिममा माओवादी भित्रको विवाद कायमै

Image

धनगढी – सुदूरपश्चिम माओवादी संसदीय दलभित्रको विवाद अझै सुल्झिन सकेको छैन । २०८० माघ १२ गते बसेको माओवादी संसदीय दलको बैठकले खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाएतया सुरु भएको विवाद अझै कायमै छ । एकाएक भट्टलाई संसदीय दलको नेताबाट हटाइएपछि भएको विवाद समाधानका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही असार ४ गते प्रधानमन्त्री निवास बालुवाटारमा दुवै पक्षलाई बोलाएका थिए ।

सो क्रममा उनले सहमतिबाट भट्टलाई नेता बनाउन निर्देशन नै दिएका थिए । उक्त निर्देशन कार्यान्वयन नभएपछि पार्टीले १२ गते परिपत्र नै पठाएको थियो । तर एक महिना बित्न लाग्दासमेत प्रचण्डको निर्देशन कार्यान्वयन नभएको भट्टले बताए ।

attariya hospital
navjiwan hospital

‘पार्टी केन्द्रले परिपत्र पठाएको छ । अहिलेसम्म कार्यान्वयन भएको छैन । किन कार्यान्वयन भएन भन्ने उहाँहरूलाई नै सोध्नोस’, उनले भने । नेता धामीले भने पार्टीको निर्देशन कार्यान्वयन नभएको विषयमा उल्टै भट्टबाट असहयोग भएको आरोप लगाए । सहमतिबाट विवाद सुल्झाउन आफूले पटकपटक सम्पर्क गर्दासमेत भट्टले फोन नउठाएको धामीको दाबी छ ।

‘पार्टीको परिपत्र आएको छ । सहमतिबाटै दलको नेता परिवर्तन गर्न पहल भइरहेको छ । यस विषयमा पटकपटक उहाँसँग सम्पर्क गर्दा फोन नै उठाउनुभएको छैन । दलको नेता बन्न मन लागेको छैनजस्तो लाग्यो’, धामीले भने ।

प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले सहमतिको प्रयास जारी रहेकाले यस विषयमा अहिले केही बोल्न नचाहेको बताए ।