खाेज्नुहाेस

सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानद्वारा बीस स्रष्टा सम्मानित

Image

धनगढी – सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानले शनिवार एक भव्य समारोहका बिच धनगढीमा स्रष्टाहरूलाई सम्मानित एवम् पुरस्कृत गरेको छ।   २११ औ आदिकवि भानुजयन्तीको अवसरमा आयोजित समारोहमा प्रतिष्ठानले लोक संस्कृति तर्फको प्रादेशिक प्रतिभा पुरस्कार २०८० बाट वरिष्ठ लोकगायक तथा डेउडा सम्राट नन्दकृष्ण जोशीलाई सम्मानित गरेको छ। यसै गरी भाषा – साहित्य तर्फको प्रादेशिक पुरस्कार  वरिष्ठ कवि मनिराज जोशीलाई, गायन तर्फको प्रादेशिक पुरस्कार लालबहादुर धामी  (अछामी बड्डो) लाई, ललितकला तर्फको प्रादेशिक पुरस्कार वरिष्ठ चित्रकार जीतबहादुर आउजीलाई, चलचित्र तथा नाट्य तर्फको प्रादेशिक पुरस्कार राजकुमार जोशीलाई, संगीत तर्फको प्रादेशिक पुरस्कार लीलाधर बास्कोटालाई र डेउडा लोकगायन तर्फको प्रादेशिक पुरस्कार गायिका रेखा जोशीलाई प्रदान गरिएको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले बताए।

समारोहमा प्रमुख अतिथि सूदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारी सँगै प्रदेश सरकारकी संस्कृति मन्त्री माया पन्त र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले स्रष्टाहरूलाई दोसल्ला, नगद पुरस्कार, टिका र मालाले सम्मानित गरेका थिए।

attariya hospital

यसै गरी प्रतिष्ठानले प्रादेशिक प्रतिभा सम्मानबाट विभिन्न विधाका १४ स्रष्टालाई सम्मानित गरेको छ।   सम्मानित हुने स्रष्टाहरूमा माधबसिंह बिष्ट, दलबहादुर बोगटी, सुरज शाह, ओमप्रकाश पुन, गौरी भट्ट, लक्षीराम आचार्य, कटक नेपाली, केपी कलौनी, धनेश्वरी रेग्मी,सागर कुश्मी चौधरी, गायिका पवित्रा भण्डारी,पुरनसिंह कडायत,रोहितप्रसाद ढुङ्गाना र जयदेव जोशी दार्चुले रहेका छन्।

navjiwan hospital

समारोहमा बोल्दै प्रमुख अतिथि मुख्यमन्त्री सोडारीले प्रज्ञा प्रतिष्ठानलाई स्वायत्त बनाउन सरकारले पहल गरिरहेको बताए। उनले आदिकवि भानुप्रति श्रद्धासुमन व्यक्त गर्दे स्रष्टाहरू राष्ट्रका गहना भएको बताए। प्रदेश भित्रका कलाकार र स्रष्टाहरूलाई खोजीगरि सरकारले उनीहरूलाई सम्मानित गर्दे जाने पनि बताए।

कार्यक्रममा संस्कृति मन्त्री माया पन्तले आदिकवि भानुभक्त आचार्यको व्यक्तित्वको चर्चा गर्दे श्रद्धासुमन व्यक्त गरिन्। मन्त्री पन्तले  सुदूरपश्चिम प्रज्ञा( प्रतिष्ठानले प्रदेशको भाषा साहित्य कला र संस्कृतिको उत्थानमा गरिरहेको प्रयास प्रशंसनीय भएको बताइन्।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा।टीएन जोशीले एकेडेमीलाई सबैको साझा बनाउन आफूले सक्दो प्रयास गरिरहेको बताए।  उनले प्रतिष्ठानलाई स्वायत्त बनाउन, स्रष्टामुखी ऐन बनाउन र आवश्यक बजेट व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराए।

एक हजार भन्दा बढीको सहभागिता रहेको भव्य समारोहमा कलाकारहरूको बेजोड प्रस्तुतिले कार्यक्रम उत्सवमय बनेको थियो। समारोहमा थारू लोकनृत्य संस्कृति, डेउडा, ठाडी भाका, तथा शास्त्रीय संगीत एवम् लोकनृत्य प्रस्तुत गरिएको थियो। समारोहमा डेउडा गायनका हस्तीहरू नन्दकृष्ण जोशी, रेखा जोशी, गौरी भट्ट, पवित्रा भण्डारी र लालबहादुर धामी अछामी बड्डोको प्रस्तुतिले मञ्च गुञ्जायमान बनेको थियो।