अत्तरिया – कैलालीको अत्तरियामा आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्म जयन्तीको अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ । प्रतिभा सामुदायिक पुस्तकालयको आयोजनामा शनिवार अत्तरियामा प्रभातफेरी लगायतका कार्यक्रम गरिएका हुन । प्रभातफेरीका क्रममा आदिकवि भानुभक्त आचार्यको फोटोलाई बजार परिक्रमा गराउँदै भानुभक्त आचार्यद्वारा रचित रामायण वाचन गरिएको थियो ।
सो अवसरमा प्रतिभा सामुदायिक पुस्तकालयको सभाकक्षमा विविध साहित्यिक रचना वाचन कार्यक्रमको पनि आयोजना गरिएको थियो । पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीको सभाध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथिमा सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशी रहेका थिए । कार्यक्रममा गोदावरी नगरपालिका –४ का वडा अध्यक्ष हेमप्रकाश मल्ल, दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख गिरीराज कडायत लगायतको सहभागिता रहेको थियो ।



कार्यक्रममा भानुभक्त आचार्यको जीवनी, व्यक्तित्व तथा कृतित्वको विषयमा पुस्तकालयका संस्थापक सदस्य विनोद कुमार भट्टराईले प्रकाश पारेका थिए । यस्तै कार्यक्रममा विभिन्न विद्यालयहरूबाट आएका छात्र–छात्राहरू, गायक एवम् साहित्यिक प्रतिभाहरूले आ–आफ्ना प्रस्तुतिहरू प्रस्तुत गरेका थिए ।
सो अवसरमा गोदावरीबाट एसइई परीक्षा २०८० मा ४ जिपिए ल्याउने दुर्गालक्ष्मी नमुना माविकी विद्यार्थी नीतिका अवस्थी, सैनिक आवासीय महाविद्यालयका विद्यार्थी विकास रावत र सत्यवती एकेडेमीका छात्र निर्मल ठगुन्नालाई पुरस्कार सहित सम्मान गरिएको थियो ।

















