अत्तरिया – कञ्चनपुरका बाढीपीडितलाई राहत र क्षतिपूर्ति दिन संघीय सांसद एनपी साउँद र रमेश लेखकले माग गरेका छन् । प्रतिनिधिसभा सभाको मंगलबारको बैठकको विशेष समयमा सांसद बोल्दै सांसदद्धय साउँद र लेखकले सो माग गरेका हुन । बैठकमा बोल्दै सांसद साउँदले देशभरिमै कञ्चनपुरमा धेरै पानी परेर ठुलो धनजनको क्षति भएकाले सरकारले तत्काल राहत र क्षतिपूर्ति दिन माग गरे ।

‘कञ्चनपुरको बाढी देशकै एउटा रेकर्डका रूपमा रहेको छ । यहाँ ६२४ मिलिलिटर पानी परेको छ’ उनले भने ‘बाढीले पुनर्वासमा ३ बालिकाको देहावसान भएको छ । कृष्णपुरमा पनि एक बालकको देहावसान भएको छ । एक जना बेपत्ता भएका छन् । दोधरा चाँदनीमा पनि एक जनाको शव फेला परेको छ । वेदकोटमा पनि महेन्द्र राजमार्ग अवरुद्ध भएको छ ।’

उनले पटक–पटक सरकारलाई बाढीको पुर्वतयारी गर्न आग्रह गरे पनि सुनुवाइ नभएको बताए । उनले तटबन्धन गर्ने काममा ध्यान नदिँदा मोहना नदी, दोधा नदी, सुनभरा नदी, स्याली नदी, बनहरा नदी, चौधर नदीमा र महाकाली नदीको बाढीको कारणले क्षति भएको बताए ।

‘बाढी नियन्त्रण र आवश्यक राहतको प्रबन्ध गर्न, उद्धार गर्न, दिवगत परिवारलाई क्षतिपूर्ति दिन, विस्थापितलाई पुनर्स्थापना गर्न केन्द्र सरकारले ध्यान दिन आवश्यक छ’ उनले भने ‘यसको लागि स्थानीय सरकार, संघसस्थामा मात्रै भर परेर हुँदैन ।’
विशेष समयमा बोल्दै सांसद लेखकले पनि बाढी पहिरोले देशभर ठुलो धनजनको क्षति पुगेको बताए । उनले कञ्चनपुरमा धेरै वर्षा हुँदा धेरै क्षति पुगेको बताए । उनले कृष्णपुर नगरपालिका, पुनर्वास नगरपालिका, बेलडाँडीमा गाउँपालिकामा, दोधारा चाँदनी नगरपालिकामा जन धनको ठुलो क्षति भएको बताए ।
उनले देशभर ठुलो धनजनको क्षति भए पनि सरकारले संसदमा जानकारी समेत नदिएको बताए । उनले संसदमा सरकारले जानकारी नदिनु दुखको कुरा भएको बताए ।